| बुधबार, अशोज ६, २०८३

रेबिज सप्ताह २०८३ सुरु, घरपालुवा तथा सामुदायिक कुकुरलाई निशुल्क खोप

रेबिज सप्ताह २०८३ मंगलबारबाट सुरु भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय गोरखाले विभिन्न कार्यक्रम गरेर रेबिज सप्ताह २०८३ मनाउन लागेको हो ।

आगामि असोज १२ गतेसम्म संचालन हुने रेबिज सप्ताहभर भेटेनरी अस्पतालले घरपालुवा तथा सामुदायिक कुकुरलाई निशुल्क रुपमा रेबिज खोप दिने कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । रेबिज सप्ताह अवधिभर कार्यालयमा घरपालुवा तथा सामुदायिक कुकर र बिरालोहरुलाई निशुल्क रुपमा खोप दिइने उनले जानकारी दिए । साथै, कार्यालयले रेबिज सप्ताहभर निशुल्क बन्ध्याकरण सेवा पनि उपलब्ध गराउने उनको भनाई छ ।

कुकुरको टोकाईबाट लाग्ने रेबिज रोग नियन्त्रण गर्न कार्यालयले रेबिज सप्ताह संचालन गरेको हो । सन् २०३० सम्ममा कुकुरको टोकाईबाट मानिसमा हुने मृत्युदर शून्य बनाउने सरकारको नीति अनुसार अभियान संचालन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय गोरखाले जनाएको छ ।

सप्ताह अवधि भर कार्यालयले जिल्लाको ११ वटै स्थानीय तहहरुमा निशुल्क खोप कार्यक्रम, विभिन्न ठाउँमा विद्यालय शिक्षा कार्यक्रम, रेबिज रोग नियन्त्रणका लागि जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम, विभिन्न जनचेतना कार्यक्रम र कुकर बिरालोहरुको निशुल्क बन्ध्याकरण कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्