| बुधबार, भदौ ३०, २०८३

गोरखाका १७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

गोरखाका १७ सय ६३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आगामि असोज ५ गतेदेखि ९ गतेसम्ममा जिल्लाभर उक्त सङ्ख्यामा किशोरीहरुलाई एचपिभी खोप लगाउन लागेको हो ।

जिल्लाभर कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई लक्षित गरी खोप अभियान संचालन गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । स्कुल नजानेहरुको हकमा भने १० बर्ष उमेर समूहका किशोरीहरुलाई मात्र खोप दिइने उनले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका विद्यालय जाने १७ सय ५३ र विद्यालय नजाने १० जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखेको छ । कार्यालयले निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाउँछ । खोप अभियान संचालनका लागि जिल्लाभर एकसय ६८ वटा खोप केन्द्र निर्धारण गरेको छ ।

गत वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १० वष उमेर समूहका एकहजार आठसय ८५ जनालाई खोप लगाइएको थियो । २०८१ मा अभियानका रूपमा लगाइएको एचपिभी खोप गतवर्ष बाट भने नियमित लगाउन सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जनस्वास्थ्य कार्यालयले खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्