स्थानीय सरकारले नै बचाउनु पर्छ आफ्नो क्षेत्रको जातीय भाषा
अति सीमान्तकृत समुदायमध्यको एक बरामहरुको धेरै बसोबास रहेको गोरखाको ताकु क्षेत्रमा बराम भाषा बोलिन्छ । पुराना पुस्ताले प्रसस्त बोल्ने यो भाषा नयाँ पुस्ताले सिको गरेनन् । जसले गर्दा बराम भाषा लोप हुने अबस्थामा पुग्यो ।
अहिले आफ्नो पहिचानको धेरै महत्व बढ्न थालेको छ । त्यसैले जागरुक बराम समुदायले ताकुकोटको अन्तरज्योति माविमा बराम भाषामा पढाइ सुरु गरेका छन् । आफ्नो भाषाको संरक्षण गर्न ऐच्छिक बिषयको रुपमा बराम भाषालाई राखिएको हो ।
नेपालभरि आठहजार एकसय जना बराम रहेको तथ्यांक जनगणनाको प्रतिवेदनमा छ । तीमध्य गोरखामा सबैभन्दा धेरै बसोबास गर्छन् । नेपालभर यो भाषा बोल्न सक्ने एकसय ५५ जना रहेको बताइन्छ । स्थानीय सरकाले पनि स्थानीय बराम समुदायको होस्टेमा हैंसे गर्नुपर्छ । यस्ता लोप हुने अबस्थामा पुगेका अन्य भाषाहरु पनि छन् ।
गोरखामा मगर भाषाका बक्ताहरु पनि घटेका छन् । बिशेष गरी सहिद लखन गाउँपालिकामा मगरभाषीहरु छन् । त्यहाँका ताक्लुङका, मनकामनाका कतिपय गाउँहरुमा मगर समुदायको मात्र बसोबास छ । त्यस्ता विद्यालयमा स्थानीय भाषामा पढाउने ब्यबस्था गर्नुपर्छ ।
धार्चे गाउँपालिकामा विशेष गरी फरक खालको भाषा बोल्ने गरिन्छ । काशिगाउँ र केरौंजामा तामाङ र अन्य उहिया, गुम्दा, लाप्राक, लापुमा फरक खालको भाषा बोलिन्छ । बारपाक सुलीकोटको साबिक बारपाक, स्वाँरा, सौरपानी क्षेत्रमा पनि सोही भाषा बोलिन्छ ।
यद्यपि त्यो भाषाको नामाकरण भएको छैन । सो भाषालाई बचाइराख्न स्थानीय सरकारले स्थानीय भाषामा पढाउने पहल गर्न ढिला गर्नुहुन्न । त्यस्तै चुमनुब्री गाउँपालिकामा बोलिने भाषाको संरक्षण गर्न पनि स्थानीय सरकाले ध्यान पु¥याउनु पर्छ । धेरै ठाउँमा स्थानीय भाषाहरु छन् । तिनको संरक्षणमा स्थानीय सरकार लागि पर्नुपर्छ ।




