जुवाजात्रा निरुत्साहित गरौं
केही दिनअघि धार्चे ३ खोर्लाबेशीमा तातोपानी मेला सम्पन्न भयो । १५ गतेदेखि १८ गतेसम्म तीनदिने मेला भव्यताका साथ सम्पन्न भयो । जसरी बिगतमा हुन्थ्यो, त्यसरी नै मेला सम्पन्न भयो ।
मेलाले निरन्तरता पाउनु एकातिर सकारात्मक छ । अर्कातिर मेलामा बर्षौंदेखिको नकारात्मक पक्षले निरन्तरता पाइरहेको छ । यो नकारात्मक पक्ष हो । सिधै भन्नुपर्दा तातोपानी मेलामा जुवाखेल अधिक हुने गर्छ ।
यसबारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि तत्कालीन प्रहरी कार्यालय प्रमुख डिएसपी रमेश थापाले जुवाजात्रालाई निरुत्साहित गर्ने प्रयास गरे । ठूलो संख्यामा प्रहरी परिचालन गरेर जुवा रोक्ने प्रयास गरे । सो बर्ष मेला स्थलमा कौडा खेलिइएन । लुकिछिपी गाउँमा खेलियो । त्यतिबेलाका प्रहरी प्रमुखको सरुवा भयो । अर्को बर्ष त्यस नियन्त्रण अभियानलाई निरन्तरता दिइएन । अहिले फेरि मेलास्थलमै कौडा हान्ने कामले निरन्तरता पाएको छ ।
यसबर्ष पनि राती १० बजेदेखि बिहान पाँचबजेसम्म जुवा खेलले व्यापकता पायो । लम्जुङकी एक महिला एकै बसाइमा चार लाख रुपैया हारेर गइन् भन्ने चर्चा छ । गाउँका जिम्मेवार सामाजिक अगुवाहरु नै खालमा सहभागी भएको बिषयले पनि चर्चा पायो । यसखालको गतिबिधिलाई निरुत्साहित गर्नुपर्ने अबस्थामा निरन्तरता दिइनु उचित हुदैन । यसबारे नयाँ युवापुस्ताले सोच्नु पर्ने बेला भएको छ ।
प्रहरी प्रशासनले पनि जुवाजात्रा नियन्त्रणका लागि बिगतको अभियानलाई निरन्तरता दिनुपर्छ । राम्रो कामको थालनी भएको यदि छ भने कार्यालय प्रमुख सरुवा भएपछि अभियानलाई पनि पूर्ण बिराम लगाउनु हुदैन । राम्रो काम सधैका लागि राम्रो हुन्छ ।
तातोपानी मेलामात्र होइन, गाउँका प्राय मेलामा जुवाखाल जम्ने गर्छ । यस्ता मेलामा निगरानी बढाई जुवाजात्रालाई नियन्त्रण गर्नुपर्छ ।




