पालुङ्टारमा दुई महोत्सवको नौटंकी
पालुङटार नगरपालिकामा पहिलो पटक मेला महोत्सव हुँदैछन् । तर एकसाथ दुई सँस्थाले महोत्सव गर्ने प्रचार प्रसार गरिरहेका छन् । उद्योग वाणिज्य संघ पालुङटार बजार ईकाईले फागुन ३ गतेदेखि र च्याम्बर अफ कमर्स पालुङटार इकाईले फागुन १ गतेदेखि महोत्सव गर्ने तयारी गरेका छन् ।
च्याम्बरले इकाई गठन भएकै दिन महोत्सव गर्ने निर्णय गरेको दाबी गरेको छ । तर संघले च्याम्बरले भन्दा पहिले पत्रकार सम्मेलन गरेर महोत्सवको जानकारी दियो । संस्थागत रुपमा फरक भएपनि आपसमा मिलेर ब्यबसायीक हितका गतिविधि सञ्चालन गर्नुपर्ने यी दुई संस्थाको महोत्सव सम्बन्धी निर्णयले सर्वसाधारणदेखि सरोकारवाला सबैलाई चकित पारेको छ । साना ब्यबसायहरु फस्टाउँदै गरेको सानो क्षेत्रमा एकैपटक दुई संस्थाले महोत्सव गर्दा त्यसको औचित्य के रहला ? दर्शकको उपस्थिति कस्तो रहला ? महोत्सव सफल होला वा विफल ? उत्साहजनक होला वा निराशाजनक होला ? यो विषय दुबै संस्थाले सोच्नुपर्नेछ । एकैपटक महोत्सव गर्ने निर्णयले ब्यबसायिक हित होईन ब्यबसायीबिच दुश्मनी र प्रतिशोधको भावना बढ्न सक्छ । यस्ता निर्णयले भाई फुटे गवार लुटे भन्ने उखान पनि चरितार्थ हुन सक्छ । त्यसैले यसबाट पर्नसक्ने असर र परिणाम का विषयमा पनि दुबै सस्ंथाले ध्यान दिनु जरुरी छ । मेला महोत्सव गरेर आफ्नो ठाउँको प्रचार प्रसार गरि पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउनु राम्रो हो । दुबै सँस्थाले एकसाथ महोत्सव गर्दा आफु आफुमै विभाजित भएको नराम्रो सन्देश जान्छ । त भन्दा म के कम भन्ने भावनाले एकैसाथ एउटै काम गर्नु राम्रो होईन् । एकले अर्कोलाई असर नपर्नेगरी गतिविधि सञ्चालन गर्नु जरुरी छ । यस विषयमा जिल्ला प्रशासन, प्रहरी र स्थानीय तह सँगै दुबै सँस्थाले मिलेर अघि बढ्ने वातावरण बनाउन जरुरी छ ।




