बालुवा अवैध चोरी निकासी नियमन गरौँ
करिब करिब सबै स्थानीय तहले ढुंगा, गिटी, बालुवाको ठेक्का लगाइसकेको छ । यतिबेला धमाधम निर्माण सामग्री उत्खनन भइरहेका छन् ।
ढुंगा, गिटी, बालुवा उत्खनन तथा ओसारपसारमा व्यापक अनियमितता हुनेगर्छ । यस क्षेत्रमा धेरै पैसा हुने भएकाले सबैको ध्यान अहिले बालुवा कारोबारतिर हुने गरेको छ । ध्यान बिभिन्न किसिमले हुनसक्छ ः कोही संरक्षण गर्ने हेतुले, कोही विनाश गर्ने हेतुले ।
अहिलेका अधिकांश युवाहरु बालुवा कारोबारतिर लागेको देखिन्छ । अनियमितताबाट राम्रै पैसा आउने भएकाले गुण्डागर्दी स्वभाव भएका प्राय युवाहरु यस्तै कारोबारतिर ढल्केको पाइन्छ । यसले गर्दा अनियमितता, गुण्डागर्दी मौलाउने अबसर पाउँछ ।
यही अनियमितता रोक्न सहिद लखन गाउँपालिकाले नयाँ नियम बनाएको छ, बालुवा चोर पक्रने प्रहरीलाई इनाम दिने । यसले गर्दा काम गर्नेलाई हौसला मिल्छ । त्यसैले यस्ता गतिबिधि अन्य पालिकाले पनि अनुकरण गरे राम्रो हुन्छ ।
नत्र कतिपय अबस्थामा प्रहरीले दोषी पक्राउ गर्छ, ठूला हाकिमले रिहा गरिदिन्छ । अनि त्यस्तालाई पक्राउ गर्ने हिम्मत कसैले गर्दैन । यस्तो क्रियाकलापले अपराध बढ्दै जान्छ । तर सहिद लखनको कार्यक्रमले यस खालको गतिबिधिलाई निरुत्साहित गर्नेछ ।
ढुंगा, गिटी, बालुवा जति धेरै उत्खनन, ओसारपसार ग¥यो त्यति आम्दानी हुन्छ भन्ने खालको लोभ पाल्नु हुदैन । यसको संरक्षण गरियो भने पछिसम्मका लागि दिगो हुनेछ अर्थात स्रोतको दुख हुने छैन । तर यस्तो भावना कम पाइने गरेको छ । सबै स्थानीय तहले प्राकृतिक स्रोत साधनको उपभोग गर्दा यसको संरक्षण हुने गरी गर्नुपर्छ भन्ने बारे चासो राख्नुपर्छ ।




