प्याराग्लाइडिङ सपना मात्र कि साकार पनि ?
गोरखा नगरपालिकाले उपल्लोकोटबाट प्याराग्लाइडिङ गर्ने भनेर सम्भाव्यता अध्ययन ग¥यो । रोट्रयाक्ट क्लवसंगको समन्वयमा पोखरा बाट विज्ञ टोली ल्याएर परीक्षण उँडान गरी प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरेको थियो । अब गोरखाबाट प्याराग्लाइडिङ हुने भयो भनेर धेरै आशावादी भइयो तर त्यसले निरन्तरता पाउन सकेन ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएपछि त्यहाँ प्याराग्लाइडिङ बन्द हुनेछ । त्यहाँ आउने पर्यटकलाई गोरखामा प्याराग्लाइडिङ गराउने लक्ष्य थियो तर लक्ष्य पूरा हुन सकेन । यसको मुख्य कारण त्यहाँ काट्नु पर्ने केही रुख डिभिजन बन कार्यालयले रोक्का गरिदियो । नगरपालिका आफैले रुख काट्न नमिल्ने तर डिभिजन वन कार्यालयले प्रक्रिया अघि नबढाएका कारण नगरपालिकाको दाँतमा ढुंगा लाग्न पुग्यो ।
धार्चे गाउँपालिकाले पनि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन ग¥यो । लाप्राकभन्दा पारिको सिङ्लाभन्दा माथिको डाँडाबाट बुढीगण्डकी करिडोरमा प्याराग्लाइडिङ उँडाउने भनी अध्ययन गरेको थियो । परीक्षण उँडान पनि गर्यो । तर त्यसले पनि निरन्तरता पाउन सकेन । पछिल्लो समय सिरानचोक गाउँपालिका वडा नं. ६ गाँखुमा पनि प्याराग्लाइडिङको परीक्षण उँडान गरिएको छ । सोमबार स्थानीय हिमाली माविको स्वर्ण जयन्ती समारोहको अवसरमा प्याराग्लाइडिङ को उडान गरिएको हो । सो वडाले पनि सान्नानीभञ्ज्याङदेखि नयाँसाँगु, महटार, जरेबरसम्म प्याराग्लाइडिङ उँडाउने सपना देखेको छ । तीनलाख रुपियाँ सो शीर्षकमा खर्च गरिसकेको छ । यसको भविष्य पनि के हुने हो हेर्न बाँकी छ ।
अहिले प्याराग्लाइडिङको लोकप्रियता त बढिरहेको छ तर यसले सार्थकता पाउन सकेको छैन । सार्थकता दिनतिर लाग्ने हो कि ?




