| आइतवार, जेष्ठ १६, २०८३

उम्मेद्वारले आयोगको नियम पालना गर

‘मान्छे तह लगाउनु अघि लागेर, गाईबस्तु तह लगाउनु पछि लागेर’ भन्ने नेपाली उखान छ । अर्थात जो नेता हो, जसले कुनै समूहको नेतृत्व गर्ने हो, यसले आफू आदर्शवान, नैतिकवान, मर्यादा पालक, सुशासन तथा पारदर्शी बनेर देखाउनु पर्दछ । तर सुशासन, आर्थिक पारदर्शिताका नारा फलाकेर नथाक्ने यो चुनावका उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्देश गरेअनुसार निर्वाचनसम्बन्धी छुट्टै खाता खोलेका छैनन् ।

निर्वाचनको निर्धारित टुंगो आउन अब जम्मा १३ दिन मात्र बाँकी छ, तर आदर्शका पाठ पढाउँदै हिड्ने, अरुको दोष केलाउँदै भाषण छाँट्ने उम्मेद्वार स्वयं नै आफ्नो कर्तव्य पालनाबाट चुकेका छन् । गोरखाका दुवै क्षेत्रका गरी गोरखाका २५ जना उम्मेद्वारमध्य जम्मा १४ जना उम्मेद्वारले मात्र निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोलेका हुन् ।

बुधबारसम्मको रेकर्डअनुसार गोरखामा १४ जना उम्मेदवारले अझैसम्म छुट्टै निर्वाचन खाता खोलेका छैनन्, ११ जनाले मात्र खोलेका छन् । गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङग्रेसका प्रेमकुमार खत्री, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्र्टीका केदारमणी खनाल, मंगोल नेशनल अर्गनाइजेशनका देवबहादुर थापा र संयुक्त नागरिक पार्टीका जितबहादुर घलेले खाता खोलेका छन् ।

यस्तै, क्षेत्र नं २ बाट नेपाली काङग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङ, उज्यालो नेपाल पार्र्टीका बलराम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर बस्नेत, र नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले निर्वाचन खाता खोलेका छन् ।

देशको नेतृत्व गर्छु, मुलुकमा सुशासन, आर्थिक पारदर्शिता ल्याउँछु भनेर निर्वाचनमा भोट माग्नेहरुले कर्तव्य पालनामा चुक्नु लज्जास्पद हो । तसर्थ अझै दुई हप्ता बाँकी छ । आयोगले भने अनुसार निर्वाचन खाता खोलेर आफू नैतिकता, आर्थिक अनुशासनमा सही छु भन्ने प्रमाणित गरुन् ।

प्रतिक्रिया दिनुहोस्