| आइतवार, जेष्ठ १६, २०८३

यो चुनाव विरासत भर्सेज वैकल्पिक

यो चुनाव नेपाली चुनावी इतिहासकै रोचक चुनाव बन्दैछ । राजनीतिको एउटा ऐतिहासिक केन्द्र गोरखा यतिबेला फेरि एकपटक देशकै ध्यान तान्ने गरी चुनावी मैदानमा होमिएको छ । विगतका निर्वाचनहरूमा दलीय समीकरण, चुनावी तालमेल र गठबन्धनको छत्रछायामा भोट खसेको गोरखामा यसपटकको दृश्य भने फरक छ । यसपालि दलहरू कुनै बैसाखी बिना एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा प्रतिस्पर्धा मात्र रोचक बनेको छैन, बरु प्रत्येक दलको वास्तविक जनमत मापन गर्ने कडीसमेत बनेको छ ।

एकातिर दशकौंदेखि जरा गाडेर बसेका पुराना राजनीतिक दलहरू छन्, जससँग संगठित कार्यकर्ताको पङ्क्ति र क्रियाशील सदस्यहरूको ठूलो ढिक्का छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता शक्तिहरू आफ्नो पुरानो विरासत जोगाउन र पार्र्टीको जग कति बलियो छ भनेर प्रमाणित गर्न तल्लीन छन् । अर्कातिर, ‘नयाँलाई छान्ने’ नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सञ्चालन गरेको अभियानले गोरखाली मतदातामा नयाँ तरंग पैदा गरिदिएको छ । पुराना दलको संगठन र नयाँ दलको ‘क्रेज’ बीचको यो द्वन्द्व नै अहिलेको गोरखाको मुख्य आकर्षण हो ।

यसअघिका चुनावहरूमा वैचारिक भिन्नता भए पनि जितका लागि दलहरूले अप्राकृतिक लाग्ने गरी तालमेल गर्ने गरेका थिए । तर, यसपटकको ‘सिंगल’ प्रतिस्पर्धाले मतदातालाई स्पष्ट विकल्प रोज्ने अवसर दिएको छ । उम्मेदवारहरूले अर्को दलको काँधमा चढेर होइन, आफ्नै विचार र एजेन्डाको बलमा मत माग्न बाध्य हुनु लोकतन्त्रको स्वस्थ अभ्यास हो । मैदानमा देखिएको यो ‘स्वस्थ प्रतिस्पर्धाले जनताका मुद्दाहरूलाई ओझेलमा पर्न नदिने र व्यक्तिभन्दा पनि एजेन्डामा बहस हुने वातावरण निर्माण गरेको छ ।

पुराना दलहरूलाई आफ्ना संगठित सदस्यहरूको मत सुरक्षित राख्नुपर्ने चुनौती छ भने नयाँ दललाई ती संगठित मतहरूमा कत्तिको ‘सेयर’ हाल्न सकिन्छ भन्ने चिन्ता छ । विशेषगरी युवा र तटस्थ मतदाताको मत कसको पोल्टामा जान्छ, त्यसले नै गोरखाको भाग्य र भविष्यको फैसला गर्नेछ । चुनावी सभाहरूमा देखिने उपस्थिति र सामाजिक सञ्जालको समर्थन मात्रै जितको ग्यारेन्टी होइन, मतदान केन्द्रसम्म पुग्ने ‘साइलेन्ट भोटर’को मन जित्नु नै सबैका लागि मुख्य चुनौती हो ।

प्रतिक्रिया दिनुहोस्