| मङ्लबार, कार्तिक २४, २०८३

चुनावी प्रचारशैली परिपक्क लोकतन्त्रतर्फ उन्मुख भएको संकेत

गोरखाको बिगत बर्षहरुको निर्वाचनको इतिहासमा प्रचारप्रसार भन्नेबित्तिकै हाम्रा आँखा अगाडि तडकभडक, ठूला र खर्चिला आमसभा, र भित्ते लेखनका दृश्यहरू आउँथे । विगतका निर्वाचनहरूमा उम्मेदवारहरू बीचको प्रतिस्पर्धा नीति र सिद्धान्तमा भन्दा पनि एक–अर्कालाई खुइल्याउने, गालीगलौज गर्ने र व्यक्तिगत आक्षेप लगाउने होडबाजी जस्तो देखिन्थ्यो ।

तर, यसपटकको चुनाव प्रचारको शैलीमा देखिएको परिवर्तनले नेपाली लोकतन्त्र परिपक्वतातर्फ उन्मुख भएको संकेत गरेको छ । यसपटकको चुनावी सरगर्मीमा पहिले जस्तो भड्किलोपन र अस्वस्थ प्रतिस्पर्धा कम देखिएको छ । उम्मेदवारहरू तडकभडकपूर्ण ¥यालीभन्दा पनि शान्त र भद्र शैलीमा घरदैलो कार्यक्रममा केन्द्रित भएका छन् ।

मतदाताको आँगनमा पुग्दा अर्को पक्षलाई गाली गरेर समय खेर फाल्नुभन्दा आफ्ना एजेन्डाहरू राख्ने र जनताका समस्या सुन्ने संस्कृति विकास हुनु निकै सकारात्मक पक्ष हो । यसपटकको प्रचार प्रसारका क्रममा भोजभतेर र अत्यधिक खर्चालु प्रचार सामग्रीको सट्टा सिर्जनशील र कम खर्चिलो डिजिटल र भर्चुअल प्रचार शैलीलाई जोड दिइएको छ । प्रतिस्पर्धी दल र उम्मेदवारबीच मुठभेडको स्थिति छैन । एकले अर्कालाई सम्मान गर्ने र स्वस्थ व्यवहार गर्ने परिपाटी बढेको छ ।

गालीगलौजको राजनीति बिस्तारै ओझेल पर्दै गएको छ र विकास एवं सुशासनका मुद्दाहरूले प्राथमिकता पाउन थालेका छन् । सामाजिक सञ्जालको प्रयोगमा पनि पहिलेको तुलनामा केही सचेतता र जिम्मेवारीपन देखिएको छ । निर्वाचन भनेको केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र होइन, यो त एउटा उत्सव र संस्कार पनि हो । जब प्रतिस्पर्धा स्वस्थ हुन्छ, तब मात्र चुनिएर आउने प्रतिनिधिमा पनि जिम्मेवारीबोध र नैतिकताको स्तर उच्च रहन्छ । राजनीतिक दलहरूले देखाएको यो भद्र शैली र संयमताले आम नागरिकमा राजनीतिप्रति हराउँदै गएको विश्वासलाई पुनः जगाउने कार्य गरेको छ ।

यो स्वस्थ प्रतिस्पर्धाको संस्कृति केवल चुनाव अवधिसम्म मात्र सीमित नभई आगामी दिनमा पनि निरन्तर रहनुपर्छ । हार र जित लोकतन्त्रको स्वभाविक प्रक्रिया हो, तर चुनाव जित्नका लागि गरिने अस्वस्थ हर्कतले समाजमा पार्ने नकारात्मक असर दीर्घकालीन हुन्छ । त्यसैले, यसपटक देखिएको यो मर्यादित चुनावी संस्कृतिलाई एउटा मानकका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्