कहिले समाधान होला, सिरानचोक गाउँपालिकाको केन्द्र किचलो
गोरखाका ११ पालिकामध्य १० वटा पालिकाको केन्द्रको बिषयमा किचलो समाप्त भएको छ । सबैभन्दा पछिल्लो चरणमा गण्डकी गाउँपालिकाको केन्द्र विवाद पनि समाधान भएको छ ।
कतिपय पालिकाले आफ्नो कार्यालय भवन निर्माण गरिसकेका छन् । कतिपयले बनाउँदै छन् । कतिपय ठेक्का प्रक्रियामा छन् । तर सिरानचोक गाउँपालिका भने केन्द्र विवादमै अल्झिरहेका छन् ।
केन्द्रविवादका कारण सो पालिकाकाले गाउँसभा पनि अरु पालिकाले भन्दा ढिला गरी सम्पन्न गरेको हो । सो गाउँसभामा कार्यालय भवन चित्रे पोखरीमा बनाउने भनेर निणर्य गर्यो ।
नेपाल सरकारबाट अनुमोदन गराउन सिफारिसका लागि सो निणर्य प्रदेश सरकारसमक्ष पठाएको थियो, तर प्रदेश सरकारले सिफारिस गर्नुअगावै छोप्राकमा सञ्चालित कार्यालय चित्रेपोखरी लगिएको भन्दै फरक बिचार समूहले सर्वोच्चमा उजुरी गर्यो ।
नेपाल सरकारले सो केन्द्र अनुमोदन नगरुञ्जेल तत्कालका लागि गाउँपालिकाको कार्यालय साविकको ठाउँ(छोप्राक)मै राख्न सर्वोच्चले निर्देशन गर्यो । तर कार्यालय भने चित्रे स्थानान्तरण गरिसकिएको थियो ।
फरक बिचार समूहले फेरि अहिले सर्वोच्चको आदेश अवज्ञा गरेर चित्रे पोखरीमै कार्यालय कायम गरिएको भन्दै विवाद, झमेला गरिरहेको छ ।
धमाधम विकास निर्माणको काम गर्नुपर्ने बेला सो पालिका भने केन्द्र विवादमा अल्झिरहनु राम्रो होइन । हालका निर्वाचित जनप्रतिनिधिको कार्यअवधि पनि अब धेरै बाँकी छैन । थोरै समयमा धेरै काम गरेर आउँदो बर्षका लागि पनि स्थान बनाउनु पर्ने बेला सानातिना विवादमा छिनाझम्टी गरी अल्झिरहनु मनासिव छैन ।
केन्द्र सार्ने र विरोध गर्ने राजनीतिक दृष्टिकोणले पनि फरक धारका होइनन् । एउटै पार्टीबाट निर्वाचित भएकाहरुले सँझै विवाद गरेर बस्नु उचित हुदैन । यथासीघ्र समस्या समाधान गर्नुपर्छ ।




