| शनिबार, बैशाख ८, २०८१

टिकाउ होला, विकासका काममा सिडियोको चासो ?

गोरखामा हालै आएका प्रमुख जिल्ला अधिकारीले गोरखामा सञ्चालित विकास निर्माणको काममा चासो राखेका छन् । जिल्लामा धेरै काम अलपत्र भएका छन् । बूढीगण्डकी जलविद्युत आयोजनाको समस्या राष्टिूय समस्या हो । मुआव्जा निर्धारणबाहेक जिल्लाको यस आयोजनामा कुनै भूमिका रहेन ।

मध्यपहाडी लोकमार्गको काम पनि त्यस्तै समस्याग्रस्त छ । गतबर्ष जुन ठाउँमा पुगेर रोकिएको थियो, त्यहाँबाट कत्तिपनि अघि बढेको छैन । बारपाक सडकको समस्या उत्तिकै क्रोनिक छ । पहिलो खण्डको ठेक्का रद्ध भएको छ । दोस्रो खण्डको काम पनि उस्तै समस्याग्रस्त छ ।

झ्याल्लानेर जंगलमा पनि सडक चौडा बनाउन नपाउँदा समस्याग्रस्त छ । सातदोबाटेबाट पालुङ्टार जाने सडकको अबस्था पनि बर्षौँदेखि क्रोनिक नै छ । गोरखा आरुघाट सडकको गोरखादेखि फिनामसम्मको खण्डको अबस्था पनि नाजुक छ ।

सडकको मात्र होइन, अरु संरचना निर्माणको काम पनि अलपत्र नै छ । धेरै पुल निर्माणको काम अलपत्र छ । दसकिलोको पुल, लुदी खोला पुल, सोती खोला पुल, अजुवा खोला पुल, बडहरे खोला पुल, बुटार पुलको अबस्था नाजुक छ । पुल मात्र पनि होइन, भवन निर्माणको काम पनि उत्तिकै क्रोनिक छ । पालुङटारको सामुहिक आवास निर्माणको काम होस वा बोर्लाङ स्वास्थ्यचौकी निर्माणको होओस्, भारतीय सरकार र चिनिया सरकारले निर्माण गर्ने विद्यालयको अबस्था पनि सुरु नै नभै अलपत्र बनेका छन् । यस्तो सूची बनाउने हो भने धेरै लामो फेहरिस्त तयार हुन्छ । यसअघिका प्रजिअले काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्दा ठूलै राजनीतिक तनाब झेल्नु परेको थियो । जबर्जस्ती करणी आरोपमा पक्राउ परेकालाई त छुटाउन राजनीतिक दबाब आउने जिल्ला हो यो । दबाब र प्रभावबाट विचलित नभै निर्माण काममा चासो दिँदा सुनमा सुगन्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्