| सोमवार, भदौ ७, २०८३

गुम्दा आलु मेला सम्पन्न, बारपाक सुलिकोट भलिबल टिम पहिलो

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेला शुक्रबार सम्पन्न भएको हो । मेलाको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि बारपाक सुलिकोट टिमले हात पारेको छ । यस्तै, आरुघाट गाउँपालिका, मान्बुको टिम दोस्रो बनेको छ भने धार्चे, मान्बु टिम र अजिरकोट गाउँपालिकाको टिमले सान्त्वना स्थान हात पारेको आयोजक थामरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए ।
पहिलो, दोस्रो र सान्त्वना हुने टिमले क्रमश रु ८० हजार, ५० हजार र २०–२० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गुरुङले जानकारी दिए ।

मेलाको अवसरमा आयोजित खुल्ला लोकनृत्य प्रतियोगितामा गुम्दा एकता महिला समूह प्रथम भएको छ । यस्तै, गुम्दाको जसिका गुरुङ र ऋतु गुरुङको समूह दोस्रो बनेको आयोजक क्लवका अध्यक्ष सन्तोष गुरुङले बताएका छन् । उनीहरुले क्रमश रु ५ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेको उल्लेख छ । मेला अवधिभर स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना भएको आयोजकको भनाई छ ।

क्लवले ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन र भावीलाई उत्थान’ भन्ने मूल नाराका साथ मेला आयोजना गरेको थियो । आलुको राजधानी भनेर चिनिने गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । ‘खेलको माध्यमले युवा प्रतिभा पहिचान गर्नु, उनीहरुमा उत्प्रेरण जगाउनु र स्थानीय पर्यटन प्रवद्र्धन गर्नु पनि हाम्रो मुख्य उद्देश्य हो’, आयोजक क्लवका अध्यक्ष गुरुङले भने ।

अध्यक्ष गुरुङको सभापतित्व एवं धार्चे गाउँपालिकाको निवर्तमान उपाध्यक्ष फुलमाया गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच मेला समापन भएको थियो । समापन कार्यक्रममा गुम्दाका वडाअध्यक्ष भिमप्रसाद गुरुङ, वडा सदस्यहरुमा, आयोजक क्लवका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्