| शुक्रबार, अशोज १५, २०८३

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोकको पोल्टामा

मेलिना बराम :

११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोक गाउँपालिकाले हात पारेको छ । प्रतियोगिता अन्तरगत भएको बिभिन्न बिधाका खेलमा १६ पदक हात पार्दै सिरानचोक उपाधि बिजेता बनेको हो ।

उक्त पालिकाले ९ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । यसअघि भएको आठौ र दशौ जिल्ला स्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले नै हात पारेको थियो ।

त्यस्तै कुल १५ पदक हात पार्दै पालुङटार नगरपालिका उपाधिको उपबिजेता बनेको छ । बिभिन्न बिधाका खेलमा उक्त पालिकाले ८ स्वर्ण, ३ रजत र ४ कास्य जितेको समितिका अध्यक्ष शान्त सिंह बस्न्यातले बताए । ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल ११ पदक जित्दै बारपाक सुलिकोट गाउँपालिका तेस्रो बनेको उनले जानकारी दिए । प्रतियोगितामा आरुघाट गाउँपालिकाले २ स्वर्ण, ८ रजत र ३ कास्य गरी १३ र गण्डकी गाउँपालिकाले २ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुल १२ पदक जितेको छ ।

२ स्वर्ण, २ रजत र ४ कास्य गरी अजिरकोट गाउँपालिकाले कुल ८ पदक जितेको छ । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले भने ५÷५ पदक जित्न सफल भएको बस्न्यातले बताए । गोनपाले २ स्वर्ण, ३ कास्य र भीमसेन थापाले १ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको उनले जानकारी दिए ।

शहिद लखन गाउँपालिका ३ वटा कास्य पदक जित्न सफल भएको छ । धार्चे र चुमनुव्री गाउँपालिकाले भने १÷१ कास्य पदक हात पारेका छन् । प्रतियोगिताको बिजेता पालिकाहरुलाई आइतवार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा छात्र र छात्रा गरी कुल ३० बिधाका खेलहरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्