
झोलुंगे पुल भत्किएपछि मनकामना र आसपासका गाउँबासीलाई समस्या
अविरल बर्षापछि त्रिशुलीमा आएको बाढीले पुल क्षतिग्रस्त भएपछि सहिद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । सहिदलखन गाउँपालिका ३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन(चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि स्थानीय तीनवटा टोलका बासिन्दा, विद्यार्थी र तीर्थयात्री मर्कामा परेका वडाअध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।
‘पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ । यहाँबाट कुरिनटार र मुग्लिनका विद्यालय, कलेज जाने ५० जनाभन्दा धेरै विद्यार्थीहरुलाई पनि समस्या भएको छ । यहाँका किसानहरु तरकारी उत्पादन गर्छन् । तरकारी बेच्न बजार जान र बजारबाट अत्यावश्यक सामान किन्न जान पनि समस्या भएको छ’, उनले भने, ‘यहाँको पुल नभएपछि अर्को पुल तर्न डेढ देखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्छ ।’
केवलकार चढ्न नसक्ने वा नचाहने मनकामनाका तीर्थयात्री सो पुल तरेर सिलिङटार पुग्ने र त्यहाँबाट बस, जीप चढेर मन्दिर पुग्ने गर्थे । ‘पुल नभएपछि भक्तजनलाई पनि समस्या भएको छ’, उनले भने, ‘यसपटक त यस्तरी बिग्रियो कि, पुल जीप राख्ने ठाउँसमेत छैन ।’ यसअघि दुई बर्षअघि पनि सो पुल बाढीले क्षति गरेको थियो । धेरै मिहिनेत गरेर बनाएको पुल फेरि भत्किएको उनको भनाइ छ ।




