
जिल्लाभर १७ सय ६४ किशोरीहरुलाई लगाइयो पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
जिल्लाभर १७ सय ६४ किशोरीहरुलाई पाठेघर मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार यही असोज ५ गतेदेखि ९ गतेसम्ममा जिल्लाभर उक्त सङ्ख्यामा किशोरीहरुलाई एचपिभी खोप लगाइएको हो ।
जिल्लाभर कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई लक्षित गरी खोप अभियान संचालन गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । स्कुल नजानेहरुको हकमा भने १० बर्ष उमेर समूहका किशोरीहरुलाई मात्र खोप दिइएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयले लक्ष्यको ९९.९८ प्रतिशत प्रगति हासिल गरेको छ । ‘शहिदलखन गाउँपालिकाका दुईजना किशोरी बिरामी भएर बाहिर गएकाले उनीहरुलाई खोप लगाउन पाइएन । त्यो बाहेक लक्षित उमेर समूहका सबैले खोप लगाएका छन्’, उनले भने ।
प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका विद्यालय जाने १७ सय ५० र विद्यालय नजाने ११ जना बालिकाहरुलाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ । कार्यालयले निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाएको थियो । खोप अभियान संचालनका लागि जिल्लाभर एकसय ६८ वटा खोप केन्द्र निर्धारण गरिएको थियो ।
गत वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका एकहजार आठसय ८५ जनालाई खोप लगाइएको थियो । २०८१ मा अभियानका रूपमा लगाइएको एचपिभी खोप गतवर्ष बाट भने नियमित लगाउन सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जनस्वास्थ्य कार्यालयले खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन आग्रह गरेको छ ।




