
मनास्लु पदमार्गको ल्होमा मोबाइल सेवा अवरुद्ध
गोरखाको मनास्लु पदमार्गमा मोबाइल सेवा अवरुद्ध भएको छ । चुमनुब्री गाउँपालिका २ ल्हो, ल्ही, स्यो, स्याला, गोम्दाङ, हिनाङलगायतका गाउँमा बुधबार बिहानैदेखि मोबाइल सेवा अवरुद्ध भएको त्यहाँका छेवाङ लामाले जानकारी दिए ।
सो क्षेत्रका लागि नेपाल टेलिकमले सो ठाउँमा टावर स्थापना गरेको थियो ।
सो टावरमा समस्या आउँदा मोबाइल र फोरजी सेवा समेत बन्द भएको स्थानीयको भनाइ छ । ‘ल्हो, ल्ही, स्यो, स्याला, गोम्दाङ, हिनाङ, नाम्रङका गरी दुई, अढाइसय घरधुरीका बासिन्दा मोबाइल सेवाबाट बञ्चित भएका छन्’, उनले भने, ‘अहिले पर्यटक आउने सिजन हो । होटल बुक गर्नुपर्ने हुन्छ । कोही घाइते, बिरामी पर्दा हेलिकोप्टर मगाउनु पर्ने हुन्छ । नत्र ज्यानसमेत जान सक्छ । मोबाइल नचल्दा धेरै समस्या भएको छ ।’
उनका अनुसार मंगलबार पनि दिउसो ढिलो गरी नेटवर्क आएको थियो । बुधबार भने ठप्पै भएको छ । यहाँको मोबाइल सेवामा आएको समस्याबारे जानकारी पाएको नेपाल टेलिकम गोरखाका प्रमुख सूर्यप्रसाद पाण्डेले जानकारी दिए । त्यहाँको फोन सेवा सञ्चालन गर्ने जिम्मा सिधै पोखरालाई भएकाले पोखरामा जानकारी गराउने उनले बताए ।




