| बिहिबार, अशोज १४, २०८३

चाडबाडमा बजार अनुगमनको निरन्तरता र कडाइ आवश्यक

चाडबाड नजिकिएसँगै गोरखा नगरपालिकाको अगुवाइमा गोरखा बजार, छेपेटार, आहालेदेखि श्यामबजारसम्म सघन बजार अनुगमन सुरु भएको छ । चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग र खपत अस्वाभाविक रूपमा बढ्ने गर्छ । यही मौकाको फाइदा उठाउँदै केही गैरजिम्मेवार व्यापारीहरूले म्याद नाघेका, सडेगलेका तथा अखाद्य वस्तु मिसावट गरिएका सामग्री बिक्री–वितरण गर्ने जोखिम उच्च रहन्छ ।

यस्तो अवस्थामा सर्वसाधारण उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन र कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार तथा प्रशासनले सुरु गरेको यो तत्परता प्रशंसनीय छ । त्यस्तै उच्च माग र खपतको मौका छोपेर कतिपय अवस्थामा कार्टेलिङ तथा कालो बजारी गर्ने अवस्था पनि रहन्छ । त्यस्तै कृत्रिम अभावको अवस्था सिर्जना गर्ने, कालो बजारी गर्ने सम्भावना पनि यो अवस्थामा देखिन्छ । त्यति मात्र होइन, सूचीमा अंकितभन्दा सामानको तौल कम पनि हुनसक्छ ।

अनुगमनका क्रममा अवाञ्छित तथा अखाद्य सामग्री बरामद गरी नष्ट गर्नु सकारात्मक र स्वागतयोग्य कदम हो । तर, चाडबाडको मुखमा मात्र गरिने मौसमी वा देखावटी अनुगमनले बजारका दीर्घकालीन समस्या समाधान गर्न सक्दैन । चाडबाड सकिएपछि पुनः उही अस्वस्थ प्रतिस्पर्धा र बदमासी दोहोरिने परिपाटीलाई अन्त्य गर्न अनुगमनलाई वार्षिक कार्यतालिकामै ढालेर नियमित र प्रभावकारी बनाउनु अपरिहार्य छ ।

नागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको संवेदनशील विषयमा कुनै पनि बहानामा खेलवाड वा सम्झौता हुन सक्दैन । तसर्थ, अनुगमन टोलीले सामान जफत र नष्ट गर्नेमा मात्र सीमित नभई अखाद्य र गुणस्तरहीन वस्तु बिक्री गर्नेलाई कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउनुपर्छ । उपभोक्ताको हक–अधिकार संरक्षण गर्दै अनुगमन प्रक्रियालाई व्यवस्थित, निरन्तर र पारदर्शी बनाउन गोरखा नगरपालिका तथा स्थानीय प्रशासन पूर्ण रूपमा जिम्मेवार र जवाफदेही बन्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्