
हिमलुङ हिउँपहिरोमा मृत्यू भएका गोरखाका मृतकको शव आफन्तलाई बुझाइयोे
गत आइतबार नार्पाभूमि ५ मनाङस्थित हिमलुङ आधार शिविरको हिउँ पहिरोमा परी मृत्यू भएका गोरखा एकजनाको शव मृतकका आफन्तलाई बुझाइएको छ । आरोहीको सहयोगीका रुपमा हिमलुङ बेसक्याम्प पुगेका धार्चे गाउँपालिका २ केरौंजा गाउँका वीरेन्द्र गुरुङको शव हेलिकोप्टरबाट गाउँ ल्याई आफन्तलाई बुझाइएको स्थानीय अर्जुन गुरुङले जानकारी दिए ।
हिमालयन होलिडेज कम्पनीबाट बेस क्याम्प जाँदा मृत्यू भएका ३२ बर्षका गुरुङ गत आइतबार हिमपहिरोमा परी बेपत्ता भएका थिए । उनको शव सोमबार भेटिएको थियो । आफन्तलाई हस्तान्तरण गरेसंगै केरौँजाबासीले मृतक वीरेन्द्रको गुरुङ परम्परा, संस्कृति अनुसार अन्त्येष्टि गरिएको पनि अर्जुन गुरुङले जानकारी दिए ।
अर्का ४५ बर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउसो मात्र भेटिएको छ । उनको शव काठमाडौ लगिएको छ ।
वीरेन्द्र गुरुङ हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रुपमा र आशबहादुर गुरुङ इम्याजिन नेपाल एक्पिडिशन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ गएका थिए ।




