
स्थानीय भत्ताको माग गर्दै गोरखाका प्रअहरुद्वारा सरकारका नाउँमा सर्वोच्चमा उजुरी
शिक्षकहरूले नियमानुसार पाउनु पर्ने स्थानीय भत्ताको माग गर्दै भिमसेनथापा गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गोरखालाई ‘घ’ वर्गको दुर्गम जिल्ला भनेर घोषणा गरेको र निजामति सेवाका कर्मचारीहरुले सो अनुसार भत्ताको सुविधा लिने गरे पनि आफूहरुलाई स्थानीय भत्ताको व्यवस्था नभएको शिक्षकहरुको गुनासो छ ।
बारम्बार ताकेता गर्दा पनि सरोकारवाला निकायबाट मागको सम्बोधन नभएपछि भिमसेनथापा गाउँपालिकासहित सम्बद्ध निकायहरू विरुद्ध उनीहरूले मुद्दा दायर गराएका हुन् । ‘स्थानीय भत्ताका बारेमा पालिकामा प्रश्न गर्दा शिक्षा विभाग देखाउने, विभागमा कुरा उठाउँदा मन्त्रालयतर्फ देखाउने गरे । अनि मन्त्रालयमा प्रश्न गर्दा अर्थ मन्त्रालयमा देखाउने र अर्थ मन्त्रालयमा कुरा गर्दा फेरि शिक्षा मन्त्रालयतर्फ नै फर्काउने गरे’, सो वहश, पैरवी गर्नेमध्यका एक प्रधानाध्यापक रामकृष्ण ढकालले भने, ‘त्यसैले हामी सर्वोच्च अदालत धाउन वाध्य भयौँ ।’
मंगलबार सर्वोच्चमा रिट दायर गरेको उनले बताए । गाउँपालिकासहित शिक्षा विभाग, शिक्षा तथा खेलकुद मन्त्रालय, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गराएका हुन् । ‘बुधबार सर्वोच्च अदालतले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गरेको छ’, ढकालले भने, ‘सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको कुरा कार्यान्वयन गर्नैपर्छ । हामीले न्याय पाउँछौँ ।’
सरकारको घोषणापछि भोजपुर लगायतका केही जिल्लाका शिक्षकहरुले स्थानीय भत्ता लिने गरेका उनले बताए । सरकारले निजामति सेवाका कर्मचारीहरुलाई स्थानीय भत्ता उपलब्ध गराउँदै आएको तर शिक्षकलाई छुटाएको संस्कृत माविका प्रअ भगवान शाक्यले बताए ।
मुद्दा दायर गर्नेहरूमा श्री बिन्द्रावती माध्यमिक विद्यालय मसेलका प्रधानाध्यापक उत्तनारायण श्रेष्ठ, श्री संस्कृत माध्यमिक विद्यालय तान्द्राङका प्रधानाध्यापक भगवान शाक्य, श्री शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण ढकाल, सिद्धकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण अंमगाई, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद भट्ट, प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव सापकोटा, नवजागृति चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डे, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन भट्टराई, पाटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल र जागेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटा रहेका छन् ।




