
तारामाविले जित्यो गोरखा नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि
गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले जितेको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा वडा नं. १० छेवेटारस्थित खेलमैदानमा बुधबार सम्पन्न नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि आयोजक विद्यालयले नै हात पार्न सफल भएको हो ।
प्रतियोगितामा प्रथम भएको तारा माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १४ पदक जितेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य अमित खत्रीले बताए । प्रथम भएको तारा माविले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
सो प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदक हात पार्दै शक्ति मावि पाटेचौर दोस्रो भएको छ । त्यस्तै, ४ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ८ पदक जित्दै विन्ध्यावासिनी मावि नारेश्वर तेस्रो भएको समितिका सदस्य खत्रीले बताए । सो प्रतियोगितामा दोस्रो र तेस्रो भएकालाई टूफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।
महालक्ष्मी मावि लक्ष्मीबजार ४ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १२ पदक जित्नै सान्त्वना भएको उनले बताए । उनीहरुलाई पनि मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको उनले बताए ।
सो प्रतियोगितामा सरस्वति मावि आहालेले ३ स्वर्ण ४ रजत र २ कास्य गरी ९ पदक, नवज्योति मावि डण्डिडाँडाले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक, बालमन्दिर माविले ३ कास्य पदक, महालक्ष्मी मावि ताप्लेले १ स्वर्ण र महेन्द्र मावि कुन्दुरले २ स्वर्ण, १ रजत, ३ कास्य गरी ६ पदक प्राप्त गरेको उनले बताए ।
त्यस्तै, महेन्द्र ज्योति मावि दरबारमार्गले १ रजत, रत्नराज्यमावि विरेञ्चोकले १ कास्य, रत्न लक्ष्मी मावि डुम्रीडाँडाले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक, रामशाह मावि देउरालीले २ स्वर्ण, ५ रजत गरी ७ पदक, राष्ट्रिय मावि घलाङले २ रजत, १ कास्य गरी ३ पदक, द वल्डक्यापिटलले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पारेका छन् ।
उक्त प्रतियोगितामा सहभागी भएका सामुदायिकका र निजी विद्यालय गरी १९ वटा माविको सहभागिता रहेको थियो । सो प्रतियोगितामा चार वटा विद्यालय भने पदक विहिन बनेका छन् ।
जनज्योति मावि ताप्ले, सरस्वति मावि फिनाम, सूर्यमुखी बोर्डिङ स्कुल र मोर्डन बोर्डिङ स्कुल पदक विहिन बनेको उनले जानकारी दिए । सोमबारबाट सुरु भएको सो रनिङशिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।




