
शहिदलखन गाउँपालिकाको रनिङशिल्ड उपाधि रामेश्वरी माविलाई
शहिदलखन गाउँपालिकाको राष्ट्रपनि रनिङ शिल्डको उपाधि रामेश्वरी माविले जितेको छ । सोमबार सम्पन्न भएको गाउँपालिकास्तरीय प्रथम सहिद लखन थापा मगर तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. ८ स्थित रामेश्वरी माविले जितेको हो ।
सहिदलखन गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा वडा नं ६ को हिमालय माविको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा रामेश्वरी माविले ५ स्वर्ण, ६ रजत र ६ कास्य गरी कुल १७ पदक हात पार्दै उपाधि जितेको गाउँपालिकाको, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख राजेन्द्र खनालले बताए ।
प्रतियोगितामा वडा नं. ७ स्थित शहीद स्मृति माविले ४ स्वर्ण, ५ रजत र ६ कास्य गरी कुल १५ पदक हात पारेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदक हात पार्दै वडा नं. ४ स्थित सिंजाली मावि तृतीय भएको उनले जानकारी दिए ।
प्रतियोगितामा गाउँपालिका भित्रका ११ माविको सहभागिता रहेको थियो । मंसिर ३० गतेबाट सुरु भएको सो प्रतियोगिता पुस २ गते सोमबार सम्पन्न भएको हो ।




