| शनिबार, बैशाख ८, २०८१

Prime minister of Nepal

अझै समाधान भएन भीमसेनको केन्द्र विवाद

दरौँदी ः गोरखाको भिमसेन थापा गाऊँपालीकाको केन्द्र सम्बन्धी विवाद समाधानका लागि प्रदेश मन्त्रिपरिषदले खटाएको कार्यदलले प्रयास थालेको छ । प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान संयोजक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण वस्नेत सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचीव फणिन्द्रमणि पोखरेल सदस्य सचीव रहेको कार्यदल बनाएको थियो ।
बुधबार वगुवा र घ्याम्पेसाल पुगेर स्थलगत अध्ययन गरेको कार्यदलले सदरमुकाममा सर्वदलीय छलफल पनि गरेको थियो । जिल्लाबाट प्रतिनिधित्व गर्ने ५ दल सहित गाऊँकार्यपालीकाका सदस्य लगायतसँग छलफल गरेको कार्यदलले गाऊँपालीकाका प्रमुख र दलका प्रतिनिधिसँग छुट्टै छलफल पनि गरेको थियो । पहिलो चरणको सर्वपक्षीय छलफल सकिएपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको दोस्रो चरणको छलफलले पनि विवाद समाधानको बाटो भने पहिल्याउन सकेन । जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले भने दुबै ठाऊँको विषयमा विवाद भैरहे सदरमुकाममै कार्यालय राखेर भएपनि गाऊँपालीकाको काम सुचारु गर्नुपर्ने बताए ।
‘गाउँपालिकाको काम प्रभावित हुनु भएन’ गुरुङले भने ‘विवाद गरिरहेर जनताको काम प्रभावित गर्ने हो भने सदरमुकाममै कार्यालय राख्नु प¥यो । त्यसका लागि समन्वय समितिको कार्यालयले आवश्यक कोठा र कर्मचारीको ब्यवस्थापन गरिदिन्छ ।’
सो गाऊँपालीकामा लामो समयदेखि प्रशासकीय अधिकृत र लेखा अधिकृत छैनन् । छलफलमा गाऊँपालीकाकी उपाध्यक्ष विनु वाग्ले, वडा नम्वर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ, माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा लगायतले पनि आफ्ना भनाई ब्यक्त गरेका थिए । केन्द्र बगुवामै राख्नु पर्छ भन्दै आन्दोलन तथा संघर्ष समिति बनाएर वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा आन्दोलनको कार्यक्रमहरु भइरहेको छ ।
कार्यदलले भिमसेन थापा गाऊँपालीकाको साविकको केन्द्र वगुवा र अहिले सारिएको घ्याम्पेसालमा पुगेर कार्यदल सदस्यहरुले स्थानीयसँग छलफल गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, पत्रकार लगायतको उपस्थितिमा दुबै ठाऊँमा भएको छलफलमा आआफ्नै अडान प्रस्तुत भएको थियो । यसअघि केन्द्र रहेको ठाऊँ वगुवाका बासिन्दाले संघर्ष समिति गठन गरेर रिले अनशन गरिरहेका छन् । अनशनस्थलमै भएको छलफलमा संघर्ष समितिका संयोजक एवम् वडा नम्वर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले गाऊँपालीका प्रमुखले विवाद समाधान गर्नै नचाहेको आरोप लगाए । घ्याम्पेसालमा भएको छलफलमा गाऊँपालीका प्रमुख इश्वर पाण्डेले आफूले विधिसम्मत रुपमा केन्द्र परिवर्तनको निर्णय गरेको बताए । ‘नियम भन्दा मैले एक इन्च पनि तलमाथी गएर काम गरेको छैन’ पाण्डेले भने ‘नियम संगत काम गर्दा अनावश्यक आरोपहरु लगाउन पाइँदैन । यो राजनितिक इश्यू होइन । यो त कानुनी कुराहरु हुन् ।’
स्थलगत अध्ययनपछि सदरमुकाम फर्केको टोलीले सर्वपक्षीय छलफल गरेको हो । विवाद समाधानको उपाय निस्कने आशा सहित छलफल गरिएपनि छलफलबाट कुनै निष्कर्ष भने निस्कन सकेन । तर विवाद समाधानका विषयमा सौहाद्र्रपूर्ण वातावरणमा थप छलफल गर्न सबै पक्ष सहमत भएका छन् ।
अब स्थलगत अध्ययनको प्रतिवेदन मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङलाई बुझाउने कार्यदलका संयोजक एवम् आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बताए । ‘हामीले स्थलगत अध्ययन र सरोकारवालत सँग छलफल पनि गरिसक्यौँ’ चुमानले भने ‘अब मुख्यमन्त्री ज्यू कहाँ प्रतिवेदन पेश गर्छौँ । त्यसपछि अरुकुराहरु आउँछन् ।’

प्रतिक्रिया दिनुहोस्