
गोनपाका ४०८ जनाले लिए निशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा
गोरखा नगरपालिका भित्रका चारसय आठ जनाले निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा लिएका छन् । तीन वर्ष यता गोरखा नगरबासीले गोरखा लायन्स आँखा सेवा केन्द्रबाट निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा लिँदै आएका हुन् ।
नगरपालिका र लायन्स आँसा सेवा केन्द्रबीच भएको स्वास्थ्य सम्झौतापछि पालिकाबासीले मोतियाबिन्दुको निशुल्क शल्यक्रियाको सेवा लिँदै आएको केन्द्र प्रमुख विश्वप्रकास अर्यालले बताए । आर्थिक वर्ष २०८०/०८१ मा गोरखा नगरपालिकाका नगरबासीलाई मोतियाबिन्दुको निशुल्क शल्यक्रियाको सेवा दिने सम्झौता भएको थियो । उक्त सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आएको अर्यालले जानकारी दिए ।
‘आर्थिक वर्ष २०८३/०८४ का लागि पनि गोरखा नगरपालिकासँग शुक्रबार मात्र मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सेवा सम्झौता भयो’, उनले भने, ‘नगरपालिकासँग सम्झौता गरेको यो चौँथो वर्ष हो । नगरपालिका बाहेक, गोरखाको आरुघाट गाउँपालिकाले पनि निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सम्झौता गरेको छ ।’ आरुघाटले गत आर्थिक वर्षबाट मात्र उक्त सम्झौता गरेको अर्यालको भनाई छ ।
मोतियाबिन्दुको निशुल्क शल्यक्रियाका लागि लायन्स आँखा सेवा केन्द्रसँग सम्झौता गरेका पालिकाका नागरिकहरुले त्यहाँ मोतियाबिन्दुको शल्यक्रिया गर्दा शूल्क तिर्नु पर्दैन । बिरामीलाई शल्यक्रिया गराउँदा लाग्ने सबै शूल्क पालिकाहरुले नै बेहोर्ने केन्द्र प्रमुख विश्वप्रकाश अर्यालले बताएका छन् ।
‘पालिकाहरुले गरेको यस्तो सम्झौताले सानो रकममा गरिब तथा असाहय बिरामीहरुलाई ठुरो राहत मिलेको छ । मोतियाबिन्दुको बिरामीहरुको दृष्टि संरक्षण र अन्धोपन न्यूनिकरणमा सहयोग पुगेको छ’, उनले भने ।
शुक्रबार गोरखा नगरपालिकाको तर्फबाट नगरप्रमुख कृष्णबहादुर राना मगर तथा गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्यामबाबु श्रेष्ठ बीच ‘मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सेवा’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । आरुघाट गाउँपालिका पनि सम्झौतालाई निरन्तरता दिने तयारीमा छ ।




