| आइतवार, साउन २३, २०८३

मनासलु बन्यो नेपालकै लोकप्रिय पदयात्रा स्थल

नेपालमा पछिल्लो ५ वर्षयता औसत वार्षिक २४ हजार ५ सय ९५ विदेशी पर्यटकले नेपालका निषेधित क्षेत्रमा अनुमति लिएर पदयात्रामा गएको पाइएको छ । अध्यागमन विभागका अनुसार विभाग र मातहत कार्यालयबाट जारी पदयात्रा अनुमतिपत्र विश्लेषण गर्दा सबैभन्दा लोकप्रिय गन्तव्य गोरखाको मनास्लु क्षेत्र रहेको पाइएको हो ।

पदयात्राका लागि नेपालमा खुम्बु, अन्नपूर्ण आधार शिविरजस्ता लोकप्रिय छन् । तर, यी गन्तव्य निषेधित क्षेत्रमा पर्दैनन् । नेपाल सरकारले अध्यागमन नियमावली २०५१ बमोजिम १३ जिल्लाका विभिन्न क्षेत्रलाई पदयात्रा निषेधित क्षेत्र घोषणा गरेको छ । जहाँ जान विदेशी नागरिकले अनिवार्य पदयात्रा अनुमति लिनुपर्छ ।

सन् २०२१ देखि २०२५ सम्म मनास्लुमा औसत १० हजार ३ सय ७१ विदेशी पदयात्रामा पुगेका छन् । २०२५ मा मात्र यस पदमार्गमा १७ हजार ७ सय १० पदयात्रुले यात्रा गरेका थिए । दोस्रो स्थानमा माथिल्लो मुस्ताङ रहेको छ । यस गन्तव्यमा वार्षिक औसत ४ हजार २ सय ४८ पर्यटकले भ्रमण गरेको तथ्यांक छ । यस गन्तव्यमा २०२५ मा मात्र ५ हजार ४ सय ८८ जनाले पदयात्रा अनुमति लिएका थिए ।

गोरखाको चुम उपत्यकामा वार्षिक १ हजार ९ सय ५९ पदयात्री पुगेका छन् । २०२५ मा ३ हजार ३१ पदयात्री त्यस गन्तव्य पुगेका थिए । मनास्लु क्षेत्र प्राचीन संस्कृति र प्राकृतिक छटाहरूको सङ्गमले रमणीय बनाएको छ । सोही कारण सो पदमार्ग नेपालको सबैभन्दा लोकप्रिय बनेको विभागको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्