
गोरखा अस्पतालमा एकबर्षमा एकलाख १२ हजार बिरामीको उपचार, ७०५ जनाको अपरेशन
तीनबर्ष यता सेवाग्राहीको संख्या दोब्बरले वृद्धि
प्रदेश अस्पताल गोरखाले एकबर्षको अवधिमा एकलाख १२ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । अघिल्लो बर्ष एकलाख १३ हजार ५०३ जनाको उपचार गरेको अस्पतालले २०८२÷०८३ मा एकलाख १२ हजार ३३७ जनाको उपचार गरेको हो ।
एक पटक टिकट काटेका विरामीलाई एकसातासम्म सोही टिकटमार्फत उपचार सेवा गर्ने परिपाटी रहेकाले गत आर्थिकबर्षको सेवाग्राही संख्या केही कम देखिएको मेडिकल सुपरिटेण्डेण्ट शम्भु अधिकारीले जानकारी दिए । विगत तीनबर्ष यताका सेवाग्राहीहरुको तथ्यांक विश्लेषण गर्दा बिरामीको संख्या दोब्बर बढेको देखिएको छ ।
तीनबर्षअघि यस अस्पतालले ९५ हजार ५७७ जना बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो । सोभन्दा अघि ५१ हजार ३४१ जनाको उपचार गरेको थियो । अस्पतालको सेवामा गुणस्तरीयता वृद्धि भएसंगै उपचार गर्न आउने विरामीको संख्या बर्सेनि बढिरहेको मेसु अधिकारीको भनाइ छ ।
अस्पतालप्रति जनविश्वास बढ्दै गएका कारण सेवा लिन आउनेको संख्या बढेको मेडिकल सुपरिटेण्डेण्ट शम्भु अधिकारीको भनाइ छ । विभिन्न रोगका परीक्षण गर्ने उपकरण तथा पद्धतिको सुविधा, विशेषज्ञ चिकित्सकको व्यवस्था तथा गुणस्तरीय सेवा उपलब्ध भएका कारण उपचार गराउन बाह्य जिल्ला नगई प्रदेश अस्पताल गोरखामा नै आउने क्रम बढेको हो ।
प्रदेश अस्पताल गोरखामा एक बर्षको अवधिमा .७१८ जना गर्भवती महिलालाई सफल सुत्केरी गराइएको छ । २०८२ साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्म अस्पतालले ३४३ जना गर्भवती महिलालाई शल्यक्रिया गरी सुत्केरी गराएको हो ।
त्यस्तै ३७५ जनालाई प्राकृतिक पद्धतिमार्फत सुत्केरी गराएको मेडिकल सुपरिटेण्डेण्ट अधिकारीले जानकारी दिए ।
गत आर्थिक बर्ष सुत्केरी व्यथाले च्यापेका ५० जनालाई चितवन तथा काठमाडौंका अस्पतालमा रिफर गरी पठाएको मेसु अधिकारीले जानकारी दिए । ५६ जना महिलालाई स्त्री तथा प्रशुतीसम्बन्धी शल्यक्रिया पद्धतिबाट उपचार गरिएको अस्पताले जनाएको छ । अस्पतालले ११२ जना नवजात शिशुलाई विशेष नवजात शिशु केयर युनिट(एसएनसियू)मा राखेर उपचार सेवा प्रदान गरेको अस्पतालको अभिलेख शाखाले जानकारी दिएको छ ।
अस्पतालमा आठहजार ९३६ जना महिलालाई स्त्री तथा प्रसुतीसम्बन्धी बहिरंग सेवा प्रदान गरिएको अस्पतालको भनाइ छ ।
अस्पतालबाट २५८ जनालाई सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको मेडिकल सुपरिटेण्डेण्ट अधिकारीले जानकारी दिए । १३० जनालाई परिवार नियोजन सेवा प्रदान गरिएको उनले बताए ।
सो अस्पताले नौ हजार ४३३ जना बालबालिकालाई बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको मेसु अधिकारीले बताए ।
गोरखा अस्पतालमा एमडी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रनिश पोखरेल तथा डा. अञ्जु थापाको नेतृत्वमा प्रसूति तथा स्त्रीरोग सम्बन्धी उपचार सेवा सञ्चालन हुँदै आएको छ । त्यस्तै डा. प्रकाश शर्मा, डा. दुर्गा मिश्र तथा डा. बुलबुल प्रधानको नेतृत्वमा बालरोग सम्बन्धी उपचार सेवा सञ्चालन भइरहेको छ ।
गोरखा अस्पतालमा गत आर्थिक बर्ष सातसयभन्दा धेरै बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेको छ । सर्जिकलसम्बन्धी ओपिडी सेवा लिन आएका चारहजार ७६२ जनामध्य ७०५ जनालाई शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । जसमध्य ३५० जनाको मेजर अपरेशन, ७९ जनाको मध्यम खालको अपरेशन र २७६ जनाको माइनर अपरेशन गरिएको मेसु अधिकारीको भनाइ छ ।
‘सामान्य शल्यचिकित्सा सेवाअन्तर्गत विभिन्न प्रकारका शल्यक्रियाहरू आवश्यकता तथा बिरामीको अवस्थाअनुसार आधुनिक ल्याप्रोस्कोपिक तथा खुला शल्यक्रिया(ओपन सर्जरी) प्रविधिमार्फत दक्ष विशेषज्ञ टोलीद्वारा प्रदान गरिँदै आएको छ’, मेसु अधिकारीले भने, ‘नियमित शल्यक्रिया सेवा हरेक मङ्गलबार र शुक्रबार सञ्चालन हुँदै आएको छ भने आकस्मिक अवस्थामा आवश्यक पर्ने शल्यक्रिया सेवा २४सै घण्टा उपलब्ध गराइँदै आएको छ ।’
प्रदेश अस्पताल, गोरखाको सामान्य शल्यचिकित्सा सेवा कन्सल्टेन्ट शल्यचिकित्सक डा. जितेन्द्रकुमार सिंह तथा डा. सुदीप श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा मेडिकल सुपरिन्टेन्डेन्ट एवं एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारीको नेतृत्वमा सञ्चालित छ । साथै, अपरेशन थियटरको व्यवस्थापन तथा समन्वय अस्पताल नर्सिङ्ग निरीक्षक सुस्मिता पंगेनीको नेतृत्वमा सञ्चालन हुँदै आएको अस्पतालले जनाएको छ ।




