| बुधबार, असार ९, २०८३

अर्जेन्टिनालाई आइसल्यान्डको ठूलो चुनौती

अर्जेन्टिनालाई आइसल्यान्डको ठूलो चुनौती

खेल समय:- ६: ४५ ,  मैदान:- अटक्रिटिए ऐरना,  दर्शक क्षमता:- ४५ हजार ३ सय
सम्भवत जारी विश्वकपमा उपाधिको भोक सर्वाधिक भएको टिमका रूपमा अर्जेन्टिनालाई लिने गरिन्छ। गत संस्करणको उपविजेता अर्जेन्टिना रसिया विश्वकपको सुरुवात आइसल्यान्डविरुद्धको खेलबाट गर्दै छ। विश्व चर्चित स्टार फवार्ड लियोनेल मेसीले उपाधि उचोलेको हेर्न चाहने समर्थकको ठूलो दबाब रहेकाले पनि अर्जेन्टिना सुरुवातबाटै दबाबमा रहने पक्का छ। समूह ‘डी’ मा रहेको अर्जेन्टिनालाई सहज समूहमा रहेको टिमका रूपमा हेरिन्छ।

विश्वकप छनोटमा संघर्षपूर्ण यात्रा तय गर्दै विश्वकपमा स्थान बनाएकाले अब अर्जेन्टिनालाई विश्वकपमा उपाधि दाबेदारी कायम राख्ने हो भने कुनै गल्तीको छुट ऊसामु रहनेछैन। जसरी विश्वकप छनोटमा उसले गरेको थियो। अर्जेन्टिना र आइसल्यान्ड एकअर्काविरुद्ध प्रतिस्‍पर्धा नगरेकाले दुवैका लागि यो पहिलो भेट हुनेछ। तुलनात्मकरूपमा आइसल्यान्डलाई अर्जेन्टिनाभन्दा कमजोर टिमका रूपमा हेरिएको छ। विश्वकप अघिको मैत्रिपूर्ण खेलमा दुवै टिमले प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। मेसीविनाको अर्जेन्टिनाले स्पेनसँग ६ गोल खान पुगेको थियो भने नाइजेरियासँग पनि अप्रत्यासित हारको सिकार भएको थियो। तर, त्योबोहक अर्जेन्टिनाले रसिया,इटाली र हाइटीलाई भने पराजित गरेकाले अर्जेन्टिना बलियो आत्माविश्वासका साथमा मैदानमा उत्रनेछ। हाइटीविरुद्ध मैदान उत्रँदा स्टार स्ट्राइकर लियोनेल मेसीले ह्याट्रिक पूरा गरेका थिए। त्यसैले पनि अर्जेन्टिनालाई मेसीको राम्रो फर्मले केही राहत दिएको छ। आइसल्यान्डले भने इन्डोनेसियाबाहेक उसले खेलेका पछिल्ला पाँच खेलमा कुनैमा पनि जित निकालेको छैन।

तर, विश्वकपअघिको मैत्रिपूर्ण खेलमा घानालाई २(२ को बराबरीमा रोकेकाले उसका लागि अर्जेन्टिनालाई पनि बराबरीमा रोक्ने मुख्य लक्ष्य हुनेछ। तर, आइसल्यान्डले विश्वकप छनोटमा आफ्नो समूहमा सनसनिपूर्ण प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएकाले अर्जेन्टिनालाई दबाब दिन सक्ने आँकलन गरिएको छ। विश्वकपमा स्थान बनाउने क्रममा आइसल्यान्डले ७ जित १ बराबरी र २ हार मात्र व्‍यहोरेको थियो। तर, अर्जेन्टिनाले भने २ हार २ बराबरी र ४ जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्