
अधुरो सपना पूरा गर्ने अन्तिम मौका
उनले बार्सिलोनालाई ३२ उपाधि दिलाए। अर्जेन्टिनालाई ओलम्पिकमा स्वर्णपदक दिलाए। एक सिजनमा सर्बाधिक गोल गर्ने खेलाडीका रुपमा गिनिज बुकमा नाम लेखाए। तर, विश्वका स्टार फुटबलर लिओनल मेस्सीको अधुरो सपना हो, विश्वकप ट्रफी। के यसवर्ष उनी र उनका अर्जेन्टिनी सहकर्मीहरुले फुटबलको सर्बोच्चो उपाधि हात पार्लान?
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा एकपटक औपचारिक रुपमा अर्जेन्टिनाको भ्रमण गए। त्यसक्रममा उनले पोप फ्रान्सिक्को लगायत त्यहाँका सबै उच्चपदस्थ अधिकारीहरुलाई भेटे। तर, भम्रणपछि आफ्नो अधुरो सपना पोख्दै उनले भने, ‘अर्जेन्टिनाको भम्रणका क्रममा मैले मेस्सीलाई भेट्ने मेसो मिलाउन सकिन्। म अनि मेरी छोरीहरु मेस्सीलाई भेट्न चाहान्थ्यौं।
मेस्सीका सबै समर्थकहरु त्यति ओबामा जस्तै विशिष्ट त छैनन् तर विश्वभर उनका सबै तह र तप्काका करडौं समर्थकहरु छन्।
असाधारण प्रतिभा, निरन्तरको प्रयास र दृढ सिक्ने चाहनाले मेस्सीलाई विश्व फुटबलमा महान खेलाडीको परिचय दियो। ९ लालिगा र ४ च्याम्पियन्स लिगसहित बार्सिलोलाई ३२ ट्रफी, २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्णपदक, सन् २००५ मा अर्जेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि। मेस्सीले टोलीका रुपमा हासिल गरेका सफलता हुन्।
लियोनल मेसी
व्यक्तिगत रुपमा उनले पाँच पटक विश्वको सर्बाेत्कृष्ट खेलाडीले पाउने बालोन डि’अर अवार्ड जितेका छन्। २०११–१२ को सिजनमा लालिगामा ५० गोल गर्दै एक सिजनमा सर्बाधिक गोल गर्ने खेलाडीको रुपमा गिनिज बुकमा नाम लेखाएका छन्। लालिगाको इतिहासमा उनी सर्बाधिक गोलकर्ता पनि हुन्। यस्ता कयौं कीर्तिमान उनले बनाए र तोडे, जसको कुनै हिसाब छैन्।
यी सबै उपलब्धि र कीर्तिमानका माझ पनि मेस्सीमा भने गजबको विनम्रता पाइन्छ। उनी भन्छन्, ‘म आफूलाई उत्कृष्ट खेलाडी मान्दिन, म अन्यजस्तै एउटा खेलाडी मात्रै हुँ। मैदानमा खेल सुरु हुँदा हामी सबै(खेलाडीहरु) एउटै हुन्छौं।’
सुरुआत र बार्सिलोना आगमन
लिओनल आन्द्रेस मेस्सीको जन्म अर्जेन्टिनाको रोसारियो शहरमा १९८७ जनवरी २४ मा भएको हो।। १० लाख जनसंख्या भएको उक्त शहरको नजिकै रहेको उत्तरी क्षेत्र अर्जेन्टिनी माओ क्रान्तीका नेता चे गोभराको जन्मथलो पनि हो।
गाडी प्रतिबन्धित रोसारियोको सडकमा अन्य बालबालिकाहरु झै मेस्सीपनि बच्चैदेखि खुट्टामा बल लिएर हिड्थे। फुटबलसँगको सामिप्यता त्यही देखि बढ्दै गयो। रोसियरोका सडक उनका पहिलो मैदान थिए र सडकका पर्खाल उनका पहिलो गोलपोष्ट। अहिले यो स्थान १० नम्बर जर्सीका समर्थकका लागि तीर्थस्थल भइसकेको छ।
मेस्सीलाई यहाँसम्म पुर्याउन उनका परिवारको ठूलो हात छ। हजुरमाया सेलियाले उनलाई सानैदेखि फुटबलमा लाग्न प्रेरणा दिइरहिन। उनलाई खेल्नमा कुनै समस्या नहोस भनेर उनले मेस्सीलाई आवश्यक सबैचीज ठिक पारिदिन्थिन। हजुरआमाले नै मेस्सीको साथ समात्दै पहिलो खेलसम्म डोर्याएकी थिइन्। अहिलेपनि जतिपटक मेस्सी गोल गर्छन्, तिनै हजुरआमालाई सम्झदै आकाश तिर हेर्छन र श्रद्धान्जली व्यक्त गर्छन्। जो १९९८ मा दिवंगत भएकी थिइन्।
मेस्सी
फुटबलमा उनीसँग अद्भुत जन्मजात क्षमता थियो। तर, उमेरभन्दा निकै होचो उनको कद थियो। शरिरमा उचाई वृद्धि गराउने हार्मोनको कमी उनको करिअरको बाधक बन्यो। त्यसको उपचारपनि महँगो थियो। मध्यम वर्गिय परिवारसँग उपचार गराउने प्रर्याप्त पैसा पनि थिइन।
आफ्नो छोराको फुटबल प्रतिभा बुझेका बाबु जोर्गी उपायको खोजीमा लागे। उनी विभिन्न क्लबहरुमा प्रस्ताव लिएर गए, जुन क्लबले उनको उपचार खर्च बेहोर्छ त्यसक्लबबाट प्रतिभावान मेस्सी खेल्नेछन्।
सुरुमा उनका बुबा अर्जेन्टिनी क्लबहरुमा प्रस्ताव लिएर गए। न्युअल्स वोल्ड ब्वाइज र रिभर प्लेट जस्ता अर्जेन्टिनी क्लबहरु मासिक १ हजार डलर पर्ने मेस्सीको उपचार खर्च तिर्न तयार भएनन र अर्जेन्टिनी क्लबले भविष्यका महान खेलाडीलाई गुमायो।
क्लब खोज्न भौतारिरहेका बुबा जोर्गी बार्सिलोनाको सम्पर्कमा पुगे। मेस्सीको क्षमता हेरेपछि बार्सिलोनाका अधिकारीहरु भने उनको महँगो उपचार खर्च तिर्न तयार भए। जुन निर्णयले मेस्सीलाई महान खेलाडी र बार्सिलोनालाई विश्वकै सर्बाधिक सफल क्लबमध्येको एक बनाइदियो।
‘मैले पहिलो दिन देखिनै बार्सिलोनालाई पराईको शहर ठानिन्,’ १३ वर्षे उमेरमा सेप्टेम्बर २००० मा बुबासँग बार्सिलोना पुगेका मेस्सी सम्झन्छन्, ‘अजेन्टिना र यहाँ ठूलो संस्कृतिक भिन्नता पनि थिएन् अनि बार्सिलोना त्यस्तो शहर थियो जसले हजारौं विदेशीहरुको स्वागत अनि हेरचाह गर्ने गर्थो।’
शहरमा त समस्या भएन्। तर, क्लब प्रवेशमा भने उनले संघर्षै गर्नुपर्यो। बार्सिलोनाका सुरुवाती दिन खेप्नुपरेको मानसिक दबाबलाई अथ्र्याउदै उनले भनेका छन्, ‘मलाई जिन्दगीमा निरास बनाएको कुनै क्षण थियो भने त्यो बार्सिलोना प्रवेश गर्दाको थियो।’
एक अर्जेन्टिनी टेलिभिजनलाई सन् २००५ मा दिएको अन्तर्वार्तामा मेस्सीले त्यो कुरा खुलाउँदै भनेका छन्, ‘म उमेरमा पनि सानो थिए, उचाई पनि निकै कम थियो। त्यसैले त्यसबेलाका प्रशिक्षकले ममाथि बार्सिलोनाले बेकारमा पैसा खर्च भन्दै होच्याउथे। अन्य खेलाडीलाई ती प्रशिक्षकले यो बाहिरबाट आएको केटो, यहाँ रहन सक्दैन यसलाई हामीले निकाल्नुपर्छ भन्थे। त्यसले मलाई निरास बनाउँथ्यो।’
तर, त्यहाँ उनको प्रतिभा चिनेर नै उनीमाथि पैसा खर्च गर्न राजी भएकाहरु पनि थिए। फलस्वरुप सन् २००१ मा मेस्सीले बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए। जहाँ उनको भेट प्रतिभावान युवा खेलाडीहरुसँग भयो र उनीहरुसँग नियमित प्रशिक्षणको मौका पनि पाए।
लजालु स्वभावका मेस्सी सुरुवाती दिनहरुमा कोहीसँग बोल्दैन थिए। सधैँ एक किनारमा गएर बस्ने गर्थे। मेस्सीसँग सुरुवाती दिनका सँगै बिताएका सेस्क फेब्रोगास सम्झन्छन्, ‘मेस्सी निकै होचा कदका थिए। कोहीसँग नबोलेर किनारामा गएर बस्थे। हामी मेस्सी बोल्न नसक्ने पो हुन कि भन्ने ठान्थ्यौ।’
बार्सिलोनामा मेस्सीले मच्चाएको सनसनी
नयाँ शहरमा आएको चार वर्षपछि सन् २००४ मा मेस्सीले बार्सिलोनाबाट डेब्यू गरे र छिटै युवा रोनाल्डिन्हो र अन्य नाम चलेका खेलाडीहरु उनका साथी बने। त्यसको दुईवर्षपछि उनले थुप्रै समर्थक कमाइसकेका थिए। नेउ क्याम्प(बार्सिलोनाको घरेलु मैदान)मा मेस्सी, मेस्सी नामको नारा लाग्न सुरु भइसकेको थियो।
सन् २००९ सम्ममा उनी फुटबलमा बादशाहको रुपमा अघि बढे। त्यसवर्ष त उनी र बार्सिलोनाले तहल्कै मच्चयो। त्यसवर्ष बार्सिलोनाले ६ वटा ट्रफी जित्दै इतिहास रचेको थियो। कुनैपनि क्लबले एकै वर्षमा यतिका उपाधि उचाल्न सकेको छैन्। बार्सिलोनाबाट सो वर्ष मेस्सीले कोपा डेल रे, ला लिगा, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग र युएफा सुपर लिगको उपाधि जितेका थिए। सो क्रम अहिलेपनि जारी छ। यसवर्ष मात्रै उनले बार्सिलोनालाई ला लिगा र कोपा डेल रेको उपाधि जिताए। ९ सिजन खेलिसकेका उनले हरेक सिजनमा लगातार ४० भन्दा बढी गोल गर्दै आएका छन्। जुन अरुका लागि असम्भव प्रायः लाग्छ।
तर, मेस्सी यी उपलब्धिहरुसँगै आराम गर्ने मुडमा छैनन्। ‘म हरेक दिनलाई नयाँ चुनौतीका रुपमा लिन्छु र आफ्नो उत्कृष्ट खेल्ने प्रयास गर्छु,’ उनी भन्छन्, ‘म विगतमा पनि त्यस्तै गर्थे र अहिलेपनि त्यस्तै गरिरहेको छु।’
अधुरो सपना पूरा गर्ने अन्तिम मौका
विश्वकप जित्ने ठूलो उपलब्धिको स्वाद भने मेस्सीले अहिलेसम्म चाख्न पाएका छैनन्। सन् २०१४ को विश्वकपमा उनी त्यसको निकै नजिक पुगिसकेका थिए। तर, जर्मनी(२०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–०गोलअन्तरले पराजित भएको थियो) बाधक बन्यो।
तीसवर्षे मेस्सीले जीवनमा देखेका लगभग सबै सपनाहरु पुरा गरिसकेका छन्। बाल्यकालमा उनले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका थिए। अहिले उनी अर्जेन्टिनाका कप्तान छन्।
तीनपटक लगातार उनले अर्जेन्टिनालाई तीन मुख्य प्रतियोगिताको फाइनलसम्म पनि डोर्याए। २०१४ को विश्वकप, २०१५ को कोपा अमेरिका र २०१६ को कोपा अमेरिका सेन्चुनारियोको फाइनलमा। तर, तिनै फाइनलमा अर्जेन्टिना पराजित भयो। तीनवटै सपनाहरुको मुखैमा पुगेर उनी चिप्लिए।
लिअोनल मेस्सी
परिणाम, अर्जेन्टिनामा मेस्सीको चर्को आलोचना भयो। उनका नाममा प्रदर्शन भयो। उनको जर्सी जलाइयो। निरास बनेका मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा समेत गरे। पछि, अर्जेन्टिनी सरकार, प्रशिक्षक, सहकर्मी र शुभचिन्तकको चर्को दबाबपछि उनले सन्यास फिर्ता लिए।
लगातारका ती हार र त्यसपछिको चर्को आलोचनाले मेस्सीलाई मानसिक रुपमा कति असर परेको छ? के त्यो असर अझैसम्म पनि बाँकी छ त?
कतिपनि छैन। उनी भन्छन्, ‘अर्जेन्टिनीहरुलाई धेरैले कठिनाइहरुसँग जुध्दै माथि उठ्ने मानिसका रुपमा चित्रण गरिन्छ, हामीसँग एकिकृत भइ अप्ठारो स्थितीबाट माथि उठ्ने क्षमता पनि छ।’
विश्वकप उचाल्ने आफ्नो सपनाबारे स्पष्ट पार्दै मेस्सी भन्छन्, ‘पछिल्ला दिनहरुमा मैले के महसुस गरे भने सपनाहरु दबाएर राख्नु हुन्न। यदि दबाएर राख्नु भयो भने त्यसले तपाईमाथि दबाब थप्छ र त्यसले पूरा गर्ने सम्भावना पनि घटाइदिन्छ।’
‘राम्रो तयारी गर्नु निकै महत्वपूर्ण हो। हामीले छनोट हुन अन्तिम खेलसम्म लड्नु परेको थियो,’ विश्वकप उचाल्ने सम्भावनाबारे बोल्दै मेस्सीले भने, ‘हामी अहिलेपनि आफूलाई टोलीका रुपमा मजबुद बनाउने क्रममै छौं। अर्कातर्फ फ्रान्स, जर्मनी, ब्राजिल तथा स्पेन जस्ता टोलीहरु पनि उत्तिकै शशक्त छन्। तर, अर्जेन्टिनी टोली राम्रा खेलाडीहरुको समूह हो। जो उपाधिको मुख्य दाबेदार पनि हो। हामी त्यहाँ कसरी पुग्छौं त्यसले फरक पर्दैन। तर हामी जहिले पनि जित्ने लक्ष्य राख्छौ र विस्तारै विस्तारै अगाडी बढ्ने कोसिस गर्नेछौं।’ एजेन्सीको सहयोगमा




