| शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय तेक्वान्दो चितवनमा हुने

काठमाडौँ, २२ साउन (रासस) :
रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराह, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा चितवनमा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ ।

आगामी कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २४ र महिलामा २२ गरी कूल ४६ तौल समूहमा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक पुष्प जोशीले जानकारी दिनुभयो ।

त्यस्तै पुम्सेतर्फ पुरुषका पाँच र महिलाका चार गरी नौ विधामा प्रतिस्पर्धा हनेछ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र कास्यमा १३० गरी कूल २६० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनशिप (आइओएफटिसी) र ललितपुरको मैत्री तेक्वान्दो डोजाङले सहयोग तथा सहकार्य गर्ने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाका छ÷छ तौल समूहका प्रतिस्पर्धामा प्रथम हुने खेलाडीलाई पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई जना महिला तेक्वान्दो खेलाडीलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिनेछ । पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिर्भसिटीमा सन् २०२० को मे १ र २ मा हुने १३औँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागिसमेत छनोट हुनेछन् ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले पहिरा पीडित र अनाथ बालबालिकालगायतका विभिन्न सङ्घसंस्थालाई रु तीन लाख ७५ हजार सहयोग प्रदान गर्नुभयो ।

नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप भदौमा

नेपाल इ–स्पोर्ट्स सङ्घ (नेस) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा दोस्रो नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप तथा एक्स्पो हुने भएको छ । आगामी भदौ २० र २१ गते हुने उक्त च्याम्पियनसिपमा डोटा–२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ (सिएस–गो), फिफा, कस्प्ले र क्लासरुम रकर्समा प्रतिस्पर्धा हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक नेसका अध्यक्ष सुरज डङ्गोलले जानकारी दिनुभयो ।

डोटा र सिएस खेलमा हरेक टोलीमा पाँच खेलाडी रहनेछन् । त्यस्तै इ–स्पोर्टस् च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलका प्रसिद्ध खेल फिफा र कस्प्ले खेल भन्नाले एनिमेसन र कार्टुन क्यारेक्टरको पहिरनमा सजिनु हो । त्यस्तै क्लासरुम रकर्समा विभिन्न कलेज तथा स्कूलका सङ्गीत ब्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटकको डोटा–२ च्याम्पियन ११औँ विश्व च्याम्पियनसिपका लागि छनोट हुनेछ । उक्त विश्व च्याम्पियनसिप सन् २०१९ डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुनेछ । प्रतियोगिताको डोटा–२ र सिएस–गो तर्फका विजेताले जनही रु ५० हजार तथा उपविजेताले रु २० हजार पाउनेछन् । त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु १० हजार पाउने छन् ।

त्यस्तै फिफातर्फका विजेताले रु १० हजार, उपविजेताले रु चार हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु दुई हजार पाउनेछन् । क्लासरुम रकर्सका विजेताले रु २० हजार तथा उपविजेताले रु १० हजार पाउनेछन् । उक्त प्रतियोगितामा करीब ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपाललमा ई–स्पोर्टस्को व्यापार र यसको विस्तारमा रहेको सम्भावनालाई जनमानसमा पु¥याउने लक्ष्य लिएर एक्स्पोकोसमेत आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्