| आइतवार, कार्तिक २२, २०८३

सिरानडाँडामा हाइअल्टिच्यूड रङ्गशाला

अजीरकोट गाउँपालिका ३ सिरानडाँडामा हाइअल्टिच्यूड रङ्गशाला निर्माणको काम सुरु भएको छ । गाउँपालिका र वडाको संयुक्त पहलमा रङ्गशाला निर्माणको काम सुरु गरिएको वडा अध्यक्ष तयराज गुरुङले जानकारी दिए ।
चालु आर्थिक बर्ष १५ लाख रुपैंयामा जग्गा सम्याउने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘११ जना फुटबल खेल्न मिल्ने पूर्ण क्षमताको रङ्गशाला बनाउने योजना हो’, गुरुङले भने, ‘डिपिआर पनि बन्ने क्रममा छ । जग्गा सम्याउने काम पनि संगसंगै भइरहेको छ । चालु आर्थिक बर्ष गाउँपालिकाको १५ लाख रुपैंयाको काम भइरहेको छ ।’ सिरानडाँडा भन्दा केही तलको सार्वजनिक जग्गामा रङ्गशाला बनाउन लागिएको हो ।
गतबर्षदेखि काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञावलीले बताए । ‘गतबर्षदेखि काम सुरु भएको हो । यसबर्ष कटिङ, मैदान फिनिसिङ, मेसिनरी वाल लगाउने काम भइरहेको छ’, ज्ञावलीले भने, ‘बहुबर्षे योजना हो । त्यसैले लागत समय र रकम बारे यसै भन्न सकिएन ।’ विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) भने नबनाइएको उनले बताए ।
रङ्गशाला निर्माणका लागि दाता खोजिरहेको वडा अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्