
गोरखा मेयर कप २०७५ को उपाधि वडा नं ६ लाई
गोरखा मेयर कप २०७५ को उपाधि वडा नं ६ ले जितेको छ । गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा शनिवार भएको फाईनल खेलमा वडा नं १३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नं ६ ले उपाधि उचालेको हो ।
प्रतियोगितामा जित हासिल गर्दै वडा नं ६ ले नगद ५५ हजार पाचँ सय ५५ रुपैयाँ पाएको छ । यस्तै, उपविजेता बनेको वडा नं १३ ले ३३ हजार तिनसय ३३ रुपैयाँ पुरस्कार पाएको छ । विजेता र उपविजेताले नगद पुरस्कार सँगै शिल्ड मेडल र प्रमाणपत्र पनि पाएका छन् ।
प्रतियोगिताको सेमिफाईनल पुग्ने वडा नं ५ र १४ ले नगद १२ हजार तिन सय ४५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताबाट नै आइतबारदेखि पालुङटारमा हुने गण्डकी प्रदेश स्तरीय मेयर कप फुटवल प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक सीलन श्रेष्ठ, उत्कृष्ट प्रतिरक्षक विशाल गुरुङ, उत्कृष्ट स्ट्राइकर जमिर मास्के, उत्कृष्ट रक्षापंक्ती वडा नं १४ का उज्जवल विकले जनही २५सय पुरस्कार दिईएको छ । साथै उत्कृष्ट खेलाडी विवेक गुरुङले ५ हजार नगद पुरस्कार पाएका छन् ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ फागुन २१ गतेबाट भएको प्रतियोगिताको ब्यबस्थापन एन्फा र सुर्योदय युवा क्लब छेबेटारले गरेका थिए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको समापन कार्यक्रममा । कलाकार राधिका हमालले सांगीतिक कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।




