
एभरेष्ट र वुद्ध युथक्लव क्वाटर फाइनलमा
दरौंदी समाचारदाता
गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा जारी छैटौं गोर्खाली रनिङ कप फूटवल प्रतियोगिता अन्तर्गत बिहिबार दुई खेल सम्पन्न भएका छन् । बिहिबारको खेलबाट एभरेष्ट क्लव चितवन र बुद्ध युथ क्लव भोटेओडार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा चेपे आदर्श युवा क्लव पालुङटारलाई ३–२ गोल अन्तरले हराउँदै एभरेष्ट क्लव चितवनले अघिल्लो चरणको यात्रा पक्का गरेको हो । चेपे आदर्शका लागि जर्सी नम्वर १० का तीर्थ वस्नेतले खेलको आठौं मिनेटमा गोलको खाता खोलेका थिए । तर पहिलो हाफको २७ औं मिनेटमा एभरेष्टका लागि जर्सी नम्वर १५ का जमिर मियाँले बराबरी गोल फर्काएका थिए ।
त्यसको ३ मिनेटमै एभरेष्टका लागि जर्सी नम्वर १९ का हार्दिक भण्डारीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको दोस्रो हाफको १५ औं मिनेटमा चेपे आदर्शका लागि जर्सी नम्वर ३२ का सन्दिप रानाले उत्कृष्ट गोल गर्दै खेललाई दुई दुईको बराबरी मा ल्याएका थिए । तर दोस्रो हाफको २५ औं मिनेटमा एभरेष्टका लागि जर्सी नम्वर १५ का जमिर मियाँले ब्यक्तिगत दोस्रो र खेलको निर्णायक गोल गर्दै ३–२ को जीत दिलाएका थिए ।
बिहिबारको दोस्रो खेलमा भने बुद्ध युथ क्लव भोटेओडारले हिमाली क्लव गाँखुलाई ६–० गोलको फराकिलो अन्तरले हरायो । भोटेओडारको जीतमा जर्सी नम्वर ११ का इन्द्र दूराले ह्याट्रिक गरे । जारी प्रतियोगिताको यो पहिलो ह्याट्रिक हो । इन्द्रले खेलको पहिलो आफको आठौं तथा दोस्रो हाफको ७ औं र २५ औं मिनेटमा गोल गरेका थिए । भोटेओडारको जीतमा जर्सी नम्वर १७ का लीलाजङ गुरुङले ७ औं र २६ औं मिनेटमा दुई गोल गरे । यस्तै जर्सी नम्वर ९ का सन्दिप गुरुङले खेलको २८ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ वजे नखिपोट युथ क्लव ललितपुर र खोप्लाङ फूटवल क्लव र दोस्रो खेल दिउँसो ३ वजे भदौरे फूटवल क्लव पोखरा तथा आयोजक हरमटारी क्लव विच हुनेछ ।




