| आइतवार, कार्तिक २२, २०८३

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने

युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पकट एक दिवसीय र टी–२० सिरिज जित्दै स्वदेश फर्किएको टोलीलाई सम्मान गर्ने निर्णय गरेको बुझिएको छ।

दुवै उपाधि जित्दै स्वदेश फर्किएको टोलीलाई हिजो अपरान्ह त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको थियो। विमानस्थलमा खेलाडीको स्वागतका लागि पहिलो पटक रेड कार्पेट समेत ओछ्याइएको थियो।

खेलाडीको स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्ट लगायत विमानस्थलमा पुगेका थिए। सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले विमानस्थलमै खेलाडीलाई ब्याक्तिगत रुपमा १०–१० हजार नगद सहित सम्मान गरेका थिए।

राष्ट्रिय झण्डा सहित सयौं समर्थक खेलाडीलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए। समर्थकले विमानस्थलमा टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो, धुर्मुस सुन्तली हाईहाई, खेलकुदमन्त्री बाइबाई’ जस्ता नारा लगाएका थिए।

क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान दिँदा समेत सरकारले क्रिकेट खेलको पूर्वाधारमा जोड् नदिएको भन्दै समर्थकले चर्को नारा लगाएका थिए। विमानस्थल पुगेका समर्थकलाई रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।

प्रतिक्रिया दिनुहोस्