| शुक्रबार, अशोज १५, २०८३

जिल्लाका क्याम्पसहरुमा छात्रको संख्या नाजुक

गोरखाका क्याम्पसहरुमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसका विद्यार्थी संख्या विश्लेषण गर्दा छात्राका माझमा छात्रको संख्या चामलमा बियाँ जस्तै रहेको पाइएको हो ।

सदरमुकामस्थित गोरखा क्याम्पसमा कुल ९८७ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये छात्राहरु ७०१ जना रहेका छन् भने छात्रहरु २८६ जना मात्र रहेका क्याम्पस प्रशासनले जनाएको छ । कूल विद्यार्थीमध्य छात्रहरु २५ प्रतिशत मात्र रहेको क्याम्पस प्रमुख नवराज पाण्डेले बताए ।

सो क्याम्पसमा बिगतदेखि नै छात्राको तुलनामा छात्रको संख्या न्यून रहेको पाण्डेले बताए । ‘गोरखा क्याम्पसलाई पहिलेदेखि नै छोरी, बुहारीहरुको क्याम्पस भन्ने गर्छन्’, उनले भने ।

सदरमुकाममै रहेको अर्को द्रव्यशाह बहुमुखी क्याम्पसको अबस्था पनि उस्तै छ । सो क्याम्पसमा अध्ययनरत ७७२ जना विद्यार्थीमध्य ६३३ जना छात्रा र बाँकी १३९ जना मात्र छात्र रहेको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए ।
तथ्यांकअनुसार कूल विद्यार्थीको ८२ प्रतिशत छात्रा र जम्मा १८ प्रतिशत मात्र छात्र रहेका छन् ।

आरुघाटस्थित भीमोदय क्याम्पसमा अध्ययनरत २०९ विद्यार्थीमध्य छात्राहरु १८५ र छात्रको संख्या जम्मा २४ जना रहेको क्याम्पस प्रमुख डाक्टर वीरेन्द्र पुडासैनीको भनाइ छ । त्यस्तै पालुङ्टारस्थित भवनी क्याम्पसमा अध्ययनरत २४३ जना विद्यार्थीमध्य ६८ जना मात्र पुरुष विद्यार्थी छन् । बाँकी १७५ जना महिला विद्यार्थी रहेको क्याम्पस प्रमुख चेतनाथ पन्तले जानकारी दिए ।

घ्याम्पेशालस्थित अर्को दुल्लभ क्याम्पसमा अध्ययनरत ६४ जना विद्यार्थीमा सात जना मात्र पुरुष विद्यार्थी छन् । महिला विद्यार्थीसंख्या ५७ रहेको क्याम्पस प्रमुख सुरेश पनेरुको भनाइ छ ।

छोरा र छोरी बीच भेदभावका कारण यो अबस्था आएको हो । विद्यालय तह पार गरेपछि छोरालाई ठूला सहरमा पढ्न पठाउने र छोरीलाई नजिकैको क्याम्पसमा पढाउने प्रवृत्तिले यस्तो देखिएको गोरखा क्याम्पसका प्रमुख पाण्डेको तर्क छ ।

द्रव्यशाह क्याम्पसका प्रमुख दवाडी भने यसलाई केही हदसम्म सकारात्मक रुपमा लिन सकिने बताउँछन् । ‘टाढा, नजिक जहाँ भए पनि छोरीलाई पनि उच्च शिक्षा दिनुपर्छ भन्ने चेतना अभिभावकमा विकास भएको देखिन्छ’, उनले भने, ‘यसरी हेर्दा यसलाई सकारात्मक रुपमा लिन पनि सकिन्छ ।’ पुरुषहरु पढाइ छाडेर रोजगारी तथा व्यवसायमा लाग्नु पर्ने बाध्यताका कारण पनि स्नातक वा स्नातकोत्तर तहमा छात्रको संख्या कम भएको हुनसक्ने उनको अनुमान छ ।

उच्च शिक्षा लिनेको संख्या पुरुषभन्दा महिला नै धेरै रहेको भवानी क्याम्पसका प्रमुख वीरेन्द्र पुडासैनीको तर्क छ । ‘गाउँतिरका अधिकांश पुरुषहरु वैदेशिक रोजगारीमा गएको देखिन्छ । महिला मात्र बाँकी छन् । तिनै महिलाहरु विद्यार्थीहरु क्याम्पस भर्ना भएर पढेका हुन्’, डाक्टर पुडासैनी भन्छन् ।

गोरखा क्याम्पसका प्रमुख पाण्डेको तर्क भने फरक छ । उनी भन्छन्, ‘पुरुषहरु विद्यालय तह पार गर्ने वित्तिकै पढ्नका लागि ठूला सहर, वैदेशिक अध्ययन तथा वैदेशिक रोजगारमा जाने गरेकाले महिला भन्दा पुरुष कम भएको हुनसक्छ । छोरीलाई विदेश वा ठूला सहर पठाउने परम्परा कम भएकाले पनि जिल्लाकै क्याम्पसमा पढाएको हुनसक्छ ।’

चार वर्षे कोर्ष पढेर तत्काल रोजगार नपाउने र नेपालको शिक्षा प्रणालीप्रति मानिसहरुको हेर्न नजरका कारणले पनि विद्यार्थीहरु अध्ययनलाई बीचमै छोडेर विदेश लगायत अन्य पेसामा लाग्ने गरेको उनले बताए । नेपालीहरु अरुको देखासिकी गर्ने, तत्काल प्रगति चाहने कारणले पनि यस्तो समस्या आएको उनले बताए ।

पुरुषहरु १२ कक्षा पास भएपछि विदेश जाने ठूलो लहर चलेको द्रव्य शाह क्याम्पसका प्रमुख दवाडी बताउँछन् । ‘महिला पनि विदेश गइरहेका छन् तर महिलाको तुलनामा पुरुष धेरै विदेश जाने, पेशा, व्यवसाय गर्ने, रोजगारीतिर बढी लाग्ने गरेको छ’, उनले भने ।

यस्तै, अध्ययनलाई विचमै छोड्ने परिपाटीले भोलि देशमा ठूलो समस्या निम्त्याउन सक्ने उनले बताए । ‘शिक्षण सेवा, निजामति सेवा, सबै ठाउँमा दक्ष जनशक्ति अभाव हुन्छ, र भइ नै सकेको छ,’ उनले भने, ‘दक्ष जनशक्ति नभएपछि निजामति सेवा पनि कमजोर हुदै जान्छ, शिक्षकहरु लगायत सबै क्षेत्रमा काम गर्ने जनशक्ति कमजोर हुदै जान्छ ।’ यसले जनतालाई दिनुपर्ने सेवा पनि कमजोर हुदै जाने उनी बताउँछन् ।

बीचैमा पढाइ छाड्ने प्रवृत्ति पनि अत्याधिक रहेको क्याम्पसहरुले जनाएका छन् । ‘चारबर्षे कोर्स आधा बितिसक् विद्यार्थी पनि आधाआधी घटिसकेका हुन्छन्’, गोरखा क्याम्पसका प्रमुख पाण्डे भन्छन्, ‘यसले दक्ष जनशक्ति उत्पादनमा नकारात्मक असर पर्छ ।

प्रतिक्रिया दिनुहोस्