| शुक्रबार, अशोज १५, २०८३

केरौँजा माविमा छात्राबास भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता

धार्चे गाउँपालिका वडा नं २ स्थित कैरौँजा माविमा आठ कोठे छात्राबास भवन बन्ने भएको छ । बुधबार गाउँपालिकाको केन्द्र माछीखोलामा छात्राबास भवन निर्माणका लागि गणेश हिमाल एशोसिएशन, गाउँपालिका र केरौजा मावि बीच त्रिपक्षीय सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, गणेश हिमाल एशोसिएनसनका अध्यक्ष सुनार गुरुङ र विद्यालयकोतर्फबाट व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

छात्रावास भवनका निर्माणका लागि गणेश हिमाल एशोसिएशनबाट २५ लाख, गाउँपालिकाबाट १० लाख र विद्यालयको ५ लाख गरी कुल ४० लाखको लागतमा भवन निर्माण हुने विद्यालयका प्रधानाध्यापक सन्जय ढकालले बताए । उक्त भवन निर्माण कार्य अव दुई हप्ताभित्र निर्माण सुरु हुने र चालु वर्षभित्रमा काम सक्ने लक्ष्य रहेको उनले बताए ।

यस अघिको छात्राबास भवन भूकम्पले भत्काएको थियो । सोहि ठाउँमा नयाँ भवनको पुनर्निर्माण तथा मर्मत गर्न लागेको उनले जानकारी दिए ।

नयाँ भवन बनेपछि छात्राबासमा बसेर अध्ययन गर्दै आएका बालबालिकाहरुलाई खान, बस्नका लागि फराकिलो र सहज वातावरण हुने उनले बताए । अहिले सो विद्यालयमा उहिया, रुन्चेत, केरौँजाबेसी, हुल्चुकका विद्यार्थीहरु छात्राबास भवनमा बसेर अध्ययन गर्दै आएको विद्यालयले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्