
अझै खुलेनन् हिमाली भेगका विद्यालय
‘तिम्रो नाम के हो ?’
‘धावा डोल्मा ।’
‘कतिबर्ष भयौ ?’
‘१० बर्ष ।’
‘कति कक्षामा पढ्छौ ?’
‘दुई कक्षामा ।’
‘स्कूल कहिलेबाट खुल्छ ?’
‘खै थाहा छैन ।’
‘विदा हुने दिनमा कहिलेबाट स्कूल
आऊ भनेको थियो ?’
‘खै थाहा छैन ।’
‘कहिलेबाट जान्छौ त स्कूल ?’
‘थाहा छैन ।’
चुमनुब्री ६ चुम्लिङकी धावा डोल्मा पढ्ने सिद्धगणेश आवासीय आधार भूत विद्यालयजस्ता दशैँअघि विदा
भएका हिमाली भेगका विद्यालय अझै खुलेका छैनन् । विद्यालय नखुल्दा विद्यार्थीहरु गोठ तथा मेलापातका काममा व्यस्त रहेका छन् । करिब ४० जना विद्यार्थी पढ्ने सिद्धगणेश आवासीय आधारभूत विद्यालय अब खोल्ने तयारी गरेको प्रधानाध्यापक विपिन नेपालीले जानकारी दिए । ‘म पनि जाँदै छु । बाटोमै छु । एकदुई दिनमा पुग्नेछु । अरु सरहरु पनि भोलिपर्सि निस्कने तयारीमा हुनुहुन्छ’, प्रअ नेपालीले भने, ‘छिट्टै खुल्नेछ ।’
सोही वडाको सिप्चेत आधारभूत विद्यालय पनि अहिलेसम्म खुलेको छैन । छठ मनाएर भर्खर सकिएकाले आफू पनि विद्यालय जाने तयारीमा रहेको प्रधानाध्यापक उमेश यादवको भनाइ छ ।
‘म र एकजना इसिडीको मिस छौँ । म पनि अब हिड्ने तयारीमा छु । इसिडीको मिसले स्कूल खोल्नुहुनेछ’, धनुषा घर भएका प्रअ यादवले भने । भर्ना रजिस्टरमा करिब २० जना रहे पनि दैनिक पाँच छ जना विद्यार्थी हाजिर हुने उनले बताए । चुम्लिङ आधारभूत विद्यालय चुम्चेत पनि अहिलेसम्म खुलेको छैन । केही दिनमा विद्यालय खुल्ने प्रधानाध्यापक काजीमान आलेले बताए ।
‘काम परेकाले म अहिले घरमै छु । म छिट्टै घरबाट निस्कन्छु । इसिडीको मिसलाई स्कूल खोल्न भन्छु’, लम्जुङ घर भएका उनले भने, ‘भर्ना संख्या त ११ जना छन्, तर हाजिर हुने त चार, पाँच जना नै हो ।’
टोल धेरै टाढा टाढा भएकाले एक गैरसरकारी संस्थाले यार्चोकमा अर्को कक्षा सञ्चालन गरेको उनले बताए । गाउँको विद्यालयमा पठनपाठन नियमित नभएको भन्दै अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई वुद्ध मावि, नुब्री आधारभूत, स्याला मावि तथा काठमाडौं र गोरखा सदरमुकामका विद्यालयमा पठाउने गरेका छन् ।




