
चुमनुब्रीका छात्राहरुले पाएनन् सेनिटरी प्याड
हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्यालाको ल्हो माध्यमिक विद्यालयका छात्राहरुले अहिलेसम्म गाउँपालिकाले दिने गरेको सेनिटरी प्याड पाएका छैनन् । महिनावारी हुने उमेरका ८० जनाभन्दा धेरै छात्राहरु अध्ययन गर्ने यहाँ सेनिटरी प्याड वितरण नभएको विद्यालयले जनाएको छ ।
गौरी शंकर आधारभूत विद्यालयका विद्यार्थीले पनि गाउँपालिकाले दिनुपर्ने सेनिटरी प्याड पाउन सकेका छैनन् । ‘गाउँपालिकाले अहिलेसम्म सेनिटरी प्याड पठाएको थाहा पाएको छैन’, प्रधानाध्यापक योजबहादुर गुरुङ भन्छन्, ‘तल्लो भेगतिर पालिकाले बाँड्छ भन्ने थाहा पाएपछि यहाँ पनि मिसहरुले मगाउनुपर्छ भनेर आवाज उठाउनु भएको छ ।’
यी दुई मात्र होइन, सो गाउँपालिकाले वुद्ध माविबाहेक अन्य विद्यालयमा सेनिटरी प्याड नबाँडेको पाइएको छ । यहाँका वुद्ध आवासीय प्रावि छेकम्पार, सिद्धगणेश आधारभूत विद्यालय चुम्चेत, नुब्री आधारभूत विद्यालय गप र श्रृङ्गी गुम्बा आधारभूत विद्यालय सेराङमा महिनावारी हुने उमेरका छात्राहरु पढ्छन् ।
‘गतबर्ष त यहाँ बाँडेको थियो, यसबर्ष त अहिलेसम्म बाँडेको छैन’, वुद्ध माविकी शिक्षिका पार्वता रेग्मी भन्छिन्, ‘यहाँ महिनावारी हुने उमेरका दुईसय पचहत्तर जनाभन्दा धेरै छात्राहरु छन् । तर सेनिटरी प्याडको समस्या छ ।’ प्याड व्यवस्थापन गर्ने उचित ठाउँको अभावले विद्यालयको वातावरण नै बिग्रिएको उनको गुनासो छ । ‘यहाँ किनेर पनि सेनिटरी प्याड लगाउने चलन छ’, उनी भन्छिन्, ‘तर उचित व्यवस्थापन नहुँदा वातावरण प्रदुषित छ । हामी त साह्रै वाक्क भएका छौँ ।’
ल्हो माविमा भने चाहेर पनि छात्राहरुले सेनिटरी प्याड लगाउन नपाएको विद्यालयले जनाएको छ । गाउँका पसलहरुमा यस्ता सामग्री उपलब्ध नहुने र विद्यालयले वितरण गर्न नसक्दा छात्राहरु समस्यामा छन् । ‘तीनबर्ष भयो तल्लो भेगका विद्यालयमा सेनिटरी प्याड वितरण भइरहेको छ भन्ने सुनेको, तर हाम्रोतिर आएको छैन’, नुब्री आधारभूत विद्यालयका प्रअ गणेश ढकाल भन्छन्, ‘आउने प्रक्रियामै होला, आउला भन्ने आशामा छौँ ।’
वुद्ध माविबाहेक अरु विद्यालयमा यो बर्षदेखि सेनिटरी प्याड वितरण गर्ने गाउँपालिकाको शिक्षा शाखा प्रमुख बलराम पाठक बताउँछन् । ‘परार खरिद गरेको प्याड पोहोर वुद्ध माविमा पठाइयो । अब यसबर्ष जेठमा खरिद गरेर राखेका छौँ । बाटोको समस्याले गर्दा ढुवानी गर्न नसकेर रोकिएको हो’, पाठक भन्छन्, ‘यसबर्ष आवश्यक पर्ने सबै विद्यालयमा मागका आधारमा पठाउनेछौँ ।’ दशैअघि विद्यालयहरुमा पठाउने योजना रहेको उनले बताए ।
जिल्लाको तल्लो भेगमा वितरण भएको सेनिटरी प्याड गुणस्तरहीन भएको आरोप लाग्ने गरेको छ । माथिल्लो भेगका विद्यालयमा भने वितरण नै नभएको पाइएको हो ।




