
गोरखाका सबै एम्बुलेन्स किन ‘थर्ड क्लास’ का !
स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार गोरखामा ५५ वटा एम्बुलेन्स दर्ता छन् । यीमध्ये अहिले ४२ वटा मात्रै संचालनमा छन् । १३ वटा एम्बुलेन्समध्ये तीनवटा गोरखामा नै छैनन् भने बाँकी १० वटा संचालनमा नरहेको पाइएको छ ।
सार्वजनिक निकायको २८ मध्ये २५ वटा मात्रै चलेका छन् भने ब्यक्तिगत, एनजिओ र अन्य गरी २७ मध्ये १७ वटा चलेका छन् । जति एम्बुलेन्स संचालनमा छन् ती सबै ‘ग’ वर्गका अर्थात ‘थर्ड क्लास’का छन् ।
एम्बुलेन्स दर्ता गर्दा सार्वजनीक निकाय होस् या ब्यक्तिगत, संस्थानका सबैले दुई वर्ष भित्र ‘ख’ वर्गमा स्तरोन्नती गर्ने प्रतिवद्धता गरेका हुन्छन् । तर अहिलेसम्म गोरखामा कुनै पनि एम्बुलेन्स ‘थर्डक्लास’ बाट ‘सेकेण्ड क्लास’ मा स्तरोन्नति भएका छैनन् । चालकलाई एम्बुलेन्स ठेक्का दिँदै आएका संचालकहरु नै स्तरोन्नतिमा चासो नदिने गरेको पाइएको छ ।
२०७७ असोजसम्म एम्बुलेन्स सञ्चालनको अनुमति प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले दिन्थ्यो । त्यसपछि २०७८ सम्म गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाले दियो ।
अहिले फेरि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला स्तरीय एम्बुलेन्स ब्यवस्थापन समितिले अनुमति दिने व्यवस्था लागु भएको छ । आरुघाट गाउँपालिका ४ आर्बाङमा राख्ने गरी ‘ख’ वर्गको एउटा एम्बुलेन्सका लागि गोरखाबाट सिफारिस भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।
अब ‘ग’ वर्गको एम्बुलेन्सको अनुमति दिन नमिल्ने र ‘ख’ वर्गको मात्रै दिन सकिने उनले बताए । ‘नेपालभर अब ख वर्गको मात्रै एम्बुलेन्स संचालन गर्न योजना अनुसार स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ’, उनले भने ।
अहिले भएका ग वर्गका एम्बुलेन्सलाई बिरामी ओसार पोसार गर्ने साधन लेख्न र लेखिएको ‘एम्बुलेन्स’ हटाउन जिल्ला स्तरीय समितिले पत्राचार गरिसकेको सूचना अधिकारी खड्काले बताए । ‘हामीले एक महिनाको अल्टिमेटम दिएर अहिले ग वर्गका एम्बुलेन्स संचालन गरेकाहरुलाई पत्राचार गरेका छौँ’, उनले भने ।
एम्बुलेन्स सिफारिसका लागि सरकारी निकाय वा पाँच वेड भन्दा माथिको स्वीकृत अस्पतालले मात्रै अनुमति पाउने गरी प्रावधान बनाइएको छ । मापदण्ड पूरा गर्न नसक्ने भन्दै गोरखामा एम्बुलेन्स सेवा दिँदै आएकाहरु ‘क’ ‘ख’ वर्गको एम्बुलेन्स ल्याउन चासो दिँदैनन् । ‘एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७’ मा एम्बुलेन्सलाई तीन वर्गमा बिभाजन गरिएको छ ।
‘क’ वर्गको एम्बुलेन्समा डाक्टरसहित अक्सिजन, नेभुलाईजेशन उपकरण, डेलिभरी सेट सहितका उपकरण जडान गरिएको हुनुपर्छ । त्यो अत्याधुनिक हुन्छ । ‘ख’ वर्गमा स्टाफ नर्स वा एचए तहका स्वास्थ्यकर्मीसहित उपचारका आवश्यक सामग्री हुनुपर्छ ।
‘ग’ मा अक्सिजन सहित प्राथमिक उपचारका सामग्री हुनुपर्छ । ‘क’ र ‘ख’ वर्गले मापदण्ड पूरा गर्न नसक्ने, महँगो भाडा पर्ने भन्दै संघ संस्थाले ल्याउन खोज्दैनन् । स्थानीय तह, गोरखा अस्पताल, बिभिन्न सहकारी, संघ संस्थाले अहिले चलाएका सबै ‘ग’ वर्गका एम्बुलेन्स हुन् । त्यहाँ तोकिएका स्वास्थ्य सामग्री भेटिँदैनन् । विकल्प नपाएपछि बिरामीहरु थर्डक्लासकै एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् ।
गम्भीर खालका बिरामीलाई अन्यत्र रिफर गर्दा स्तरीय एम्बुलेन्स नहुँदा समस्या हुने गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । ‘ग’ वर्गका एम्बुलेन्स लामो समयसम्म स्तरोन्नति भएका छैनन् । पछिल्लो निर्देशिका २०७७ ले ‘ग’ वर्गका एम्बुलेन्सले दुई वर्षभित्र स्तरोन्नति गर्नुपर्ने प्रावधान राखेको छ ।




