| मङ्लबार, कार्तिक २४, २०८३

हेपाटाइटिसमुक्त बनाउन सामुहिक प्रयासको खाँचो

उत्तरी गोरखा, विशेषगरी हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा हेपाटाइटिस बी को प्रकोप बढ्दै गएको छ । भौगोलिक बिकटता तथा उपयुक्त स्वास्थ्य सेवा नभएको ठाउँमा यस्तो ठूलो रोगको संक्रमण बढ्दै जानु चिन्ताको विषय हो ।

यो रोग प्रायः लक्षणविहीन हुने भएकाले यसको पहिचान गर्नु चुनौतीपूर्ण छ र यो नै यसको रोकथामका लागि प्रमुख बाधा बनेको छ । यस्तो संवेदनशील अवस्थामा, यसको समाधानका लागि सबै सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य छ । यस समस्याको समाधानका लागि, सर्वप्रथम स्थानीय, प्रदेश र संघीय सरकारले हेपाटाइटिस बी को निःशुल्क परीक्षण तथा खोप अभियान सञ्चालन गर्नुपर्छ ।

उत्तरी गोरखाका हरेक घरधुरीमा पुगेर यो रोगको परीक्षण(स्क्रिनिङ) तथा खोप दिने व्यवस्था मिलाउनु अत्यावश्यक छ । यसले संक्रमित व्यक्तिहरूको पहिचान गर्न र स्वस्थ मानिसहरूलाई संक्रमणबाट जोगाउन मद्दत पुग्छ । साथै, स्वास्थ्यकर्मीहरूले यस रोगबारे जनचेतना फैलाउनुपर्छ, जसमा यो रोग कसरी सर्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी समावेश हुनुपर्छ ।
समाजका अगुवाहरू, विद्यालयका शिक्षक र स्थानीय क्लिनिकहरूले पनि यो अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

उनीहरूले आफ्नो समुदायमा हेपाटाइटिस बी सम्बन्धी सही जानकारी पु¥याउन र मानिसहरूलाई परीक्षण तथा खोप लिन प्रोत्साहित गर्न सक्छन् । यसले गर्दा अन्धविश्वास र डरका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था कम हुन्छ । अन्त्यमा, हामी सबैले यस समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ । सरसफाइमा ध्यान दिने, असुरक्षित यौन सम्बन्धबाट बच्ने र चिकित्सकीय सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्ने जस्ता व्यक्तिगत सावधानीले पनि यो रोग फैलिनबाट रोक्न सकिन्छ ।

जबसम्म सरकारी निकाय, स्वास्थ्यकर्मी, र आम नागरिक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्दैनन्, तबसम्म उत्तरी गोरखालाई हेपाटाइटिस बी मुक्त बनाउने लक्ष्य हासिल गर्न सकिँदैन । सामूहिक प्रयास नै यसको एक मात्र समाधान हो ।

प्रतिक्रिया दिनुहोस्