
मंकिपक्सले महामारी रुप नलियोस्
मंकिपक्स रोग नेपालमा समेत देखिन थालिसकेको छ । भाइरसवाला यो रोगको जोखिम नेपालमा बढेको यसले संकेत गर्छ । बिशेषत अफ्रिकी मुलुकमा देखिने यो रोगको कुनै निश्चित सिमा र क्षेत्र रहेन । संसारका १ सय १६ देशमा यसको संक्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि सतकर्ता अपनाउन आग्रह गरिसकेको अवस्था छ ।
प्रविधिको बिकाससँगै हामीले बिभिन्न रोग र भाइरसका संक्रमणहरु व्यहोर्दै आएका छौ । जलवायु परिवर्तनको असरका कारण पनि तराई मुलुकमा मात्र देखा पर्ने रोगहरु पहाड उक्लन थालिसके । डेंगु, मलेरिया जस्ता रोग पहाडमा बिरलै सुन्न पाइन्थ्यो । तर अहिले पहाडमै यस्ता रोगको संक्रमण फैलिदो अवस्थामा छ । अहिले मंकिपक्सको संक्रमण देखिन थाल्यो । सरुवा किसिमको यो रोगको सुरुआती लक्षण ज्वरो आउनु नै हो ।
शरीरमा डाबर देखिने, डाबरमा फोका बन्ने र पाप्रा उठ्ने, टाउको र मांसपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् । त्यति मात्र होइन यसको लक्षण अलि घातक पनि छ । यसले आँखाको दृष्टि कमजोर बनाउने र मानिसको ज्यान सम्म लिन सक्छ । बेलैमा सतर्कता अपनाएर यो रोगको संक्रमण फैलनबाट बच्नु नै उचित हुन्छ । संक्रमण फैलनु अगावै सरकारी निकायले नियन्त्रणका लागि ठोस रणनीति र योजना बनाएर अघि बढ्न सक्नुपर्छ ।
गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्छ । यसका लागि स्वास्थ्यसँग सम्बन्धित निकाय पनि जागरुप हुनुपर्छ । कहिले मंकिपक्स कहिले आउला अनि उपचार विधि अपनाउला भन्नु भन्दा पनि संक्रमणअघि नै बिशेष कार्यक्रमसहित सतर्कता अपनाउनु बुद्धिमता हुन्छ ।
रोग लागेर उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिनका लागि पूर्वसावधानी अपनाउनुपर्छ । विगतमा भएका कमीकमजोरी सच्याउँदै संक्रमण नियन्त्रणका लागि एक्यवद्ध भएर अघि बढ्नु आवश्यक छ ।




