
डेंगी नियन्त्रणलाई प्राथमिकता देऊ
गोरखा बजारमा अहिले डेंगी संक्रमणको धेरै ठूलो त्रासदी छ । संक्रमणबाट दुईजनाको मृत्यू भइसकेको छ ।
अहिले गोरखा अस्पतालमा उपचारका लागि आउनेहरुमध्य दैनिक १५ जना भन्दा धेरैमा डेंगी पुष्टि हुने गरेको छ । डेँगी पुष्टि भएर अस्पताल भर्ना हुनेको संख्या बढेपछि अहिले गोरखा अस्पतालमा भर्ना हुने शैयाको समेत अभाव देखिएको छ ।
अहिले गोरखा सदरमुकामका घरघरमा डेंगीका बिरामी छन् । घरका कोठाकोठामा डेंगीका बिरामी छन् । सडकमा भेटिनेहरु प्राय अस्पतालका शैयामा डेँगीग्रस्त अबस्थामा भेटिन्छन् । कोभिडको बेलामा जस्तै अहिले डेंगीको त्रास फैलिएको छ ।
कोभिडको बरु खोप पत्ता लाग्यो । खोप लगाउन थालेपछि धमाधम मान्छेहरुमा त्रास हट्न थाल्यो ।
र जनजीवन पहिलेकै अबस्थामा सहज रुपमाले चल्न थाल्यो । तर अहिले डेंगीको खोप बनाउने चर्चा पनि छैन । मान्छेमा डेंगीबाट जोगिएला भन्ने आशा पनि कम छ । बरु आज लाग्छ कि भोलि लाग्छ, अवश्य लाग्छ भन्ने मनस्थिति पाइएको छ ।
महानचाड दशैँ नजिँकिँदै गर्दा फैलिएको डेंगीका कारण मान्छेमा निराशा, बिरक्ति फैलिएको छ । चाडबाड नजिकिँदै गर्दा कहिले बिरामी परिने हो भन्ने चिन्ताले सबैको मनमा डेरा गरेको छ ।
त्यसैले यस्तो बेला स्थानीय सरकार वा सम्बन्धित कार्यालयहरुले तदारुकता देखाएर डेँगी न्यूनिकरणका लागि कार्यक्रम बनाउनु अति जरुरी छ । जसरी कोभिड व्यवस्थापनका लागि सरकारले सबै काम कुरा छाडेर लागि परेको थियो, अहिले डेंगीले अति भएका बेला अरु काम कुरालाई स्थगित गरेर डेँगी नियन्त्रणमा लाग्नु पर्छ ।
सबैभन्दा ठूलो त जनस्वास्थ्य हो । स्वास्थ्य ठिक छ भने नै सबैकुरा हुने हो । त्यसैले स्थानीय सरकार वा स्वास्थ्य कार्यालयहरु एकजुट भई अरु कार्यक्रम पछिका लागि थाती राखी डेँगी नियन्त्रणका लागि घनिभूत रुपमा लाग्नु आजको आवश्यकता हो ।




