| सोमवार, कार्तिक २३, २०८३

डेँगु, स्क्रब टाइफसलगायतका रोगबाट बचौँ, बचाऔँ

कुनैपनि महामारीको एउटा नमूना पोजेटिभ देखियो भने राष्ट्रिय समाचार बन्छ । तर ती केसहरु धमाधम बढ्न थाल्छ, तब सामान्यीकरण बन्दै जान्छ भन्ने उदाहरण कोभिड १९ महामारीका बेला सबैले अनुभव गरेकै कुरा हो ।

जिल्लामै पहिलो पटक कोभिड पोजेटिभ देखियो रे भन्ने हल्ला सुनेपछि जिल्लाभरका मान्छे त्राहीमाम थिए । तर पछिपछि कोभिड जति आँधीहुरी लिएर आए पनि मान्छेहरुले वास्ता गर्न छाडेका थिए । कोभिडभन्दा अघि डेँगुको त्रास उस्तै थियो । कैयौँ व्यक्तिहरु डेंगुका कारण मृत्यू भएको थियो ।

पहिलोपल्ट स्क्रब टाइफसको नमूना आरुघाटका एकजनामा देखियो भन्ने खबर सनसनी बनेर फैलिएको थियो । तर अहिले त्यस्तो अबस्था छैन । यसको अर्थ यसलाई सामान्य ठान्नुपर्छ, हेलचेक्र्याइँ गर्नुपर्छ भन्ने होइन । व्यक्तिको मनोविज्ञान बलियो भए पनि रोग कमजोर भएको भने हुँदैन । तसर्थ यी रोगहरुबाट आफू पनि बच्नु पर्छ, अरुलाई बचाउनु पनि पर्छ ।

अहिले पछिल्लो अबस्थामा गोरखामा दुई महिनाको अवधीमा ५२० जनामा डेङ्गु संक्रमण देखिएको छ । यस्तै, १०८ जनामा स्क्रब टाईफस देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकामा संक्रमण फैलिएको हो ।
गोनपामा १६० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । यस्तै ६० जनामा स्क्रब टाईफस देखिएको छ ।

पालुङटार नगरपालिकामा १२३ जनामा डेङ्गु र १० जनामा स्क्रब टाईफस देखिएको छ । आरुघाट गाउँपालिकामा १६४ जनामा डेङ्गु संक्रमण देखिएको छ भने २० जनामा स्क्रब टाईफस पुष्टि भएको छ । भिमसेनथापा गाउँपालिकामा ४२ जनामा डेङ्गु देखिएको हो ।

यस्तै, सहिदलखनमा १३, अजिरकोटमा ९, गण्डकीमा ५ र बारपाक सुलिकोट गाउँपालिकामा ४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । तथ्यतथ्याङ्कका आधारमा यो गम्भीर विषय हो । त्यसैले जोकोही जिल्लाबासी डेंगु र स्क्रब टाइफसबाट बचौँ र बचऔँ ।

प्रतिक्रिया दिनुहोस्