| सोमवार, कार्तिक २३, २०८३

एचआईभी संक्रमणबारे सचेतना कार्यक्रमको जरुरी

अहिलेसम्मको जानकारी अनुसार गोरखामा ३०४ जना एचआईभी संक्रमितहरु रहेका छन् । उनीहरुमध्य २३१ जनाले गोरखा अस्पतालबाट एआरटी औषधी सेवन गरिरहेका छन् । गोरखाको ११ पालिकाका ३०४ जना संक्रमितमध्य ६३ जना पालुङटार नगरपालिकाकै हुन् । उनीहरुमध्य २ जनाको मृत्यू भइसकेको छ । अहिले ६१ जना संक्रमित रहेका छन् । अर्थात जिल्लामा सबैभन्दा धेरै संक्रमित पालुङ्टारमा छन् ।

पालुङ्टारका १० वटा वडाहरुमध्य पनि वडा नं. १ मा संक्रमितको संख्या अधिक छ । कार्यालयले तथ्यांक संकलन गर्नुअघि नै यहाँ धेरै जनाको एचआईभी संक्रमणका कारण मृत्यू भइसकेको थियो । स्थानीयबासीका अनुसार एकै घरधुरीका दाजुभाइ, जो कलकत्ताबाट फर्केर आएका थिए, उनीहरु र उनीहरुका पत्नी, छोराछोरी गरी सात जनाको मृत्यू भएको थियो । अहिले पनि एउटै टोलमा छ जना संक्रमित छन् ।

एचआईभी संक्रमण बेरोकतोक फैलन सक्ने भन्दै स्थानीयबासी त्रस्त छन् । संक्रमितहरुले पनि रोग लुकाउने, शंकास्पदहरु पनि परीक्षण गर्न जान अटेरी गर्ने, मासु काट्ने ठाउँ, भोजभतेरमा तरकारी काट्ने ठाउँहरुमा सराबरी सहभागी भइदिने गर्दा आफूहरु समस्यामा परेको स्थानीयबासीको गुनासो छ । के गर्दा एचआईभी सर्छ, के गर्दा सर्दैन भन्नेमा पनि राम्ररी ज्ञान नभएका गाउँलेहरु भित्रभित्र डराएर बस्नु परेको गाउँलेहरुको गुनासो छ । स्वास्थ्य कार्यालय तथा एचआईभीसम्बन्धी कार्यक्रम गर्ने संघसंस्थाले गाउँमा आएर जनचेतनामुलक कार्यक्रम गरिदिए आफूहरु डरत्रासमुक्त भइने उनीहरुको अपेक्षा छ ।

एचआईभी गाउँमा व्यप्त हुनुको कारण गरिबी, अशिक्षा, सचेतनाको अभाव हो । गरिबीका कारण भारतका विभिन्न सहरमा जान बाध्य भए, त्यहाँ अशिक्षा र सचेतनाको अभावका कारण जथाभावी यौन संपर्कमा फँसेका हुन् । उनीहरुको अझै असावधानीका कारण घरमा पत्नीलाई सारेका र अज्ञानताकै कारण संक्रमित सन्तान जन्माएका छन् । यसरी अबस्था बिकराल भएको हो ।
यी तमाम समस्या समाधानका लागि गाउँमा बारम्बार एचआईभी संक्रमणसम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्