
खानेपानीको मुहानलाई शुद्धताको ग्यारेण्टी गरौँ
स्वास्थ्य कार्यालय गोरखाले गोरखा नगरपालिकाभित्रका ५२ वटा खानेपानीको मुहानमा पुगी पानीको गुणस्तर परीक्षण गरेको छ । बिगत एकसाता लामो परीक्षण गरेपछि हालै सार्वजनिक गरेको प्रतिवेदनमा यहाँका अधिकांश मुहानका खानेपानीमा कोलिमर्फ देखिएको हो ।
नगरपालिकाका भित्रका ५२ वटा खानेपानीको मुहान परीक्षण गर्दा ३७ वटा मुहानमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालयको प्रतिवेदनले जनाएको छ ।
१७ स्वास्थ्य संस्थाको १९ वटा खानेपानी मुहानमध्ये १२ वटामा र ३२ वटा विद्यालयको ३३ वटा खानेपानी मुहानको नमूना परिक्षण गर्दा २५ वटामा फिकल कोलिफर्म देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयले मंसिर २५ गतेबाट नगरपालिकाभित्रका खानेपानीको नमूना संकलन गरी परीक्षण गरेको थियो ।
‘हामी स्वस्थ रहने कि अस्वस्थ रहने हाम्रै हातमा निर्भर छ । हाम्रो शरीरमा ७२ प्रतिशत पानी छ । त्यसैले हाम्रो शरीरलाई कति स्वस्थ राख्ने भन्ने हामी कति शुद्ध, स्वच्छ पानी पिउँछौँ भन्नेमा निर्भर रहन्छ’ – सद्गुरु ।
स्थानीय तहको बजेट तथा कार्यक्रम तय गर्दा खानेपानीलाई तेस्रो प्राथमिकतामा राख्नुपर्ने व्यवस्था छ । तर बजेट सडक, भवनतिरै धेरै छ ।
चाहे जुनसुकै स्वास्थ्य समस्या भएर अस्पताल जाऔँ, चिकित्सकले धेरै सुझावहरु दिन्छन्, जसमध्य पहिलो नंबरको सुझाव हुन्छ, पर्याप्त पानी पिउनुस् । जब कि शरीरमा हुने तीन चौथाइ भाग पानी नै स्वच्छ छैन भने हामी स्वस्थ छौँ भनेर कसरी विश्वास गर्न सक्छौँ ?
हाम्रा शरीरका प्रत्येक कोषिका हामीलाई स्वस्थ राख्न उद्धत हुन्छन् । तर कोशिकामा पुग्ने पानी नै स्वस्थ छैन भने हामी स्वस्थ हुन्छौँ भनेर कसरी कल्पना गर्ने ?
कोलिफर्म भनेको दिशा, झाडापखालामा हुने जीवाणु हो । अब मानव स्वास्थ्यमा प्रत्यक्ष दुश्प्रभाव पार्ने कोलिफर्ममुक्त खानेपानीको मुहान बनाउनु पर्छ । त्यसका लागि प्रदेश सरकार, संघीय सरकारल, वा स्थानीय सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ ।




