चिसो बढ्यो, सचेत रहौँ
चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन् । कोभिड १९ को संक्रमणले पनि जाडोको समयमा जोखिम बढाउने स्वास्थ्यकर्मी बताउँछन । जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ ।
यस्तो मौसममा झोलपदार्थ खानेकुराका साथै हरियो सागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन । चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ ।
चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । चिसो मौसममा बृद्धबृद्धालाई दम र बाथले बढी सताउँछ । बालबालिकालाई निमोनिया र रुघाखोकीजस्ता रोगले आक्रमण गर्छ । जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन । नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ । दिनमा धेरैपटक साबुनपानीले हात धुनुपर्छ । जाडोमा दैनिक १२ गिलास पानी पिउन चिकित्सकले सल्लाह दिन्छन ।
हामीले घर, कोठा तातो बनाउने भन्दैमा धेरै हिटर ताप्नु, झ्याल ढोका सबै बन्द गरेर कोईला बाल्नु भने हुँदैन । यसले अर्को दुर्घटना निम्त्याउन सक्छ । अत्याधिक चिसो हुने ठाउँहरुमा बिपद् आईपर्न सक्छ ।
यसतर्फ पनि सरोकारवाला निकायको ध्यान पुग्नुपर्छ । अहिले गाउँगाउँमा सरकार भएका बेला चिसोले कठ्याङ्ग्रिएर सर्वसाधारणले अकालमै मृत्यू बरण गर्नु नपरोस् । संम्बन्धित पालिकाले चिसोका कारण गुजारा चलाउन समस्यामा परेको ब्यक्तिको पहिचान गरी उनीहरुलाई सुरक्षित राख्न सक्नुपर्छ ।




