| शुक्रबार, बैशाख १७, २०८३

मंसीर पाँच र छ गते मुन्थला मेला

अनुपमा खनाल
गोरखाको गण्डकी गाउँ पालिका ८ घ्याल्चोकको बेनी गाउँमा प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव हुने भएको छ ।
मेला मुल आयोजक समिति ले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरि स्थानीय मुन्थला मन्दिर परिसरमा मंसिर ५ र ६ गते महोत्सव गर्न लागेको जानकारी दिएको हो ।
स्थानीय बासिन्दाको सक्रिय ता तथा गाउँपालिकाको सहयोगमा हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक भीम श्रेष्ठले जानकारी दिए । समुन्द्री सतहबाट १२ सय मिटरको उचाईमा रहेको सो ठाउँमा पर्यटन प्रबद्र्धन तथा प्रचार प्रसारका लागि महोत्सव गर्न लागिएको मुल आयोजक समितिका संयोजक श्रेष्ठले बताए । प्रत्येब बर्ष मंसिर पुर्णिमाका दिन जात्रा लाग्ने मुन्थला मन्दिरमा यसपाली महोत्सव गर्न लागिएको हो ।
मुन्थलालाई मनकामनाको कान्छी बहिनीका रुपमा स्थानिय बासीन्दाले पुजाआजा गर्दै आएका छन् । पृथ्वी राजमार्गको बेनीघाट बाट उत्तरतर्फ १२ किलोमिटरको दुरीमा मन्दिर रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेको बेनिगाउँमा नै सोही दिन १० घरमा होमस्टे सेवा पनि सुरु गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ३ सय गाउँमा होमस्टेका लागि सघाउने निति लिएकाले गण्डकी गाउँपालिकाले बेनीगाउँको होमस्टेलाई सघाउन आग्रह गरेको गाउँपालिका प्रमुख होमबहादुर रानाले बताए । मुन्थला महोत्सव गण्डकी गाउँपालिका चिनाउने पहिलो महोत्सव भएको उनले बताए ।
महोत्सव अन्तरगत नै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, दौड प्रतियोगीता, नृत्य प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न २२ लाख ९० हजार रुपैया खर्च लाग्ने र २६ लाख ५० हजार रुपैया आम्दानी गर्ने लक्ष्य आयोजकले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्