| बुधबार, असार ९, २०८३

राती दश बजेपछि देउसी भैलो खेल्न नपाईने

दरौंदी समाचारदाता :
गोरखामा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबार सार्वजनिक सुचना जारी गर्दै तिहारका अबसरमा हुने देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम रातको १० बजेसम्म मात्र गर्न अनुरोध गरेको हो । रातको समयमा हुने यस्ता कार्यक्रममा अवाञ्छित गतिविधिमा संलग्नहरुले शान्ती सुरक्षामा प्रतिकुल असर पार्न सक्ने भएकाले देउसी भैलोका लागि समय तोकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
‘१० बजेभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिन्छ ’ उनले भने ‘ चाडबाडको मर्यादा कायम गरेर देउसी खेल्न पनि हामीले सबैसँग आग्रह गरेका छौ ।’ तिहारमा तथा रकम संकलनका लागि विभिन्न क्लब, युवा समूह, आमा समूह, संघसंस्थाले रातभर देउसी भैलो खेल्ने चलन रहेकाले प्रशासनले चाडपर्वको मर्यादा कायम राखेर देउसी भैलो खेल्न पनि सबैसँग अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले भुईचम्पा, आतशबाजी, पटाका जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत बनाएको छ । यसबाट नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै चोटपटक लाग्ने, आगलागी हुने सम्भावना रहेकाले विस्फोटक पर्दाथको प्रयोग, आयात र बिक्रीमा पनि रोक लगाईएको प्रशासकिय अधिकृत भण्डारीले बताए ।
‘ प्रशासनको निर्देशन उल्लंघन गरेमा कारवाही हुन्छ’ उनले भने ‘ यदि कतै पटका लगायतका विस्फोटक पदार्थ ओसारपोसार, प्रयोग भएमा प्रहरी, प्रशासनमा खबर गर्नुहोला ।’ तिहारको बेला दिपावलीका क्रममा दियो, पाला, मैनबत्ति लगायत विद्युतिय उपकरण बाल्ने क्रममा आगलागि तथा विपद्का घटना हुनसक्ने भएकाले सतर्क रहन पनि प्रशासनले सार्वजनिक सुचना जारी गरेर जिल्लाबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्