
एनपिआई गोरखा अस्पतालद्धारा बैंक र सहकारीसँग सम्झौता
एनपिआई गोरखा अस्पतालले एनएमबी बैंक गोरखा शाखा र बागभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको छ । अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट दिने उदेश्यले बैंक र सहकारीसँग सम्झौता गरिएको हो ।
मंगलबार एक कार्यक्रम गरि बैंकका शाखा प्रबन्धक रञ्जन बस्नेत, सहकारीका अध्यक्ष भरतकुमार श्रेष्ठ तथा अस्पतालका मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनएमबी बैंकका ग्राहक, कर्मचारी तथा श्री बागभैरव बचत तथा ऋण सहकारी संस्थाका सदस्य एवं उनीहरूका परिवारले एनपिआई गोरखा अस्पतालमा स्वास्थ्य सेवा लिँदा विशेष छुट सुविधा प्राप्त गर्नेछन्।
एनएमबी बैंकको देशभर फैलिएको शाखा सञ्जालका ग्राहक तथा कर्मचारीहरूले गोरखा आउँदा पनि उक्त छुट सुविधाको लाभ लिन सक्ने अस्पतालले जनाएको छ। यस प्रकारका सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै बैंक, सहकारी र स्वास्थ्य संस्थाबीचको सहकार्यले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।




