
ठाडोभाका प्रतियोगितामा लम्जुङको मानसिंह दुरा समूह प्रथम
प्रथम गोरखा खुल्ला ठाडोभाका प्रतियोगिता सम्पन्न भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो ।
ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा गोरखा र लमजुङका १५ टिमले सहभागिता जनाएको अध्यक्ष पृथ्वी गुरुङले बताउनुभयो । लोप हुँदै गएका लोक भाका तथा संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।
गत शुक्रबार र शनिबार संचालन भएको प्रतियोगितामा लमजुङको सुन्दरबजार नगरपालिका–११, ठूलो स्वाँराको मानसिंह दुरा नेतृत्वको समूह प्रथम भएको छ । मध्यरातसम्म संचालित प्रतियोगितामा प्रथम बनेको मानसिंह समूहले नगद रु ८० हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लमजुङकै दुधपोखरी गाउँपालिका–२ का डम्मरराज घले नेतृत्वको टिमले दोस्रो स्थान हाँसिल गरेको छ । घलेको टिमले नगद रु ५० हजार र प्रमाणपत्र प्राप्त गरेको आयोजक ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार प्रतियोगितामा रमना भण्डारी टिम र आशबहादुर विक नेतृत्वको टिम तेस्रो बनेको छ । दुवै टोलीले नगद रु २०/२० हजारसहित प्रमाणपत्र प्राप्त गरेको उनको भनाइ छ । कार्यक्रमको अवसरमा गायनमार्फत ठाडो भाकाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याएकोमा नव पुस्ताबाट गायिका चिजा तामाङ तथा पुरानो पुस्ताबाट विष्णुमाया गुरुङ सम्मानित भएकी थिइन् ।




