| मङ्लबार, असार ८, २०८३

दरौंदी जलविद्युत आयोजनाको ठेक्का खुल्यो

९.८४ मेगावाट क्षमताको दरौंदी नदी जलविद्युत आयोजना निर्माणको ठेक्का आव्हान गरेको छ । मनकामना दरौंदी जलविद्युत कम्पनीले विभिन्न संरचना निर्माणका लागि डेढ अर्बको ठेक्का आव्हान गरेको जानकारी दिएको छ ।

आयोजनाको बाँध निर्माण, नहर तथा सुरुङ निर्माण, पेनिस्टक पाइप खरिद तथा पावर हाउस निर्माण आदिमा करिब डेढ अर्बको ठेक्का खुलेको आयोजनाका यानप्रसाद भट्टले जानकारी दिए । ठेक्का असार १६ गते दिउसो १२ सम्म दर्ता गरिसक्नुपर्ने र २ बजे खोलिने कम्पनीले जनाएको छ ।

२ अर्ब २८ करोड कूल लागत रहेको सो आयोजनाको रकम सुनिश्चित भइसकेको छ । कूल लागतको ७० प्रतिशत हिमालयन वैंकले लगानी गर्ने छ भने ३० प्रतिशत लगानी संस्थापक, स्थानीय र आईपिओ सदस्यहरुबाट व्यवस्था गरिएको भट्टले जानकारी दिए ।

सो आयोजना ठेक्का सम्झौता भएको ७३० दिन(२०२८ जुन महिना)भित्र निर्माण गरिसक्नु पर्ने सूचनामा उल्लेख छ ।
मनकामना दरौंदी जलविद्युत कम्पनीले गोरखा नगरपालिका–१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

गोरखा नगरपालिका १३ अँबुवा कर्मसिङमा बाँध बाँधी वडा नम्बर १३ कै सिमलगैरामा पावर हाउस निर्माण हुनेछ । आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार आयोजनाले खेती योग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्नेछ ।

प्रतिक्रिया दिनुहोस्